संस्थागत अभिकर्ता बढाउन छुट्टै निर्देशिका «

संस्थागत अभिकर्ता बढाउन छुट्टै निर्देशिका


बिमा समितिले संस्थागत अभिकर्ता लाइसेन्सलाई व्यवस्थित गर्नका लागि छुट्टै निर्देशिका जारी गरेको छ । ‘संस्थागत बिमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै समितिले कम्पनी तथा संस्थालाई अभिकर्ताको लाइसेन्स दिने व्यवस्था गरेको हो । तर, संस्थागत अभिकर्ता हुन चाहने संस्था कुनै खास प्रकारको व्यवसाय गर्ने रहेछ र त्यसको लागि कुनै निकायको इजाजतपत्र आवश्यक पर्ने रहेछ भने त्यस्तो इजाजतपत्र समेत प्राप्त गरेको हुनुपर्ने निर्देशिकामा व्यवस्था छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत अभिकर्ताको लाइसेन्स लिएर बैंकास्योरेन्सको काम गर्दै आएका थिए । तर, नेपाल राष्ट्र बैंकले दुई वर्षअघि नै मौद्रिक नीतिमार्फत यसलाई बन्द गर्न निर्देशन दिएको थियो ।
हाल बिमा कम्पनीहरुले सहकारी संस्थाहरुलाई संस्थागत अभिकर्ताको लाइसेन्स दिँदै आएका छन् । निर्देशिकाको प्रावधान अनुसार अब सहकारीहरुलाई अभिकर्ताको लाइसेन्स दिनका लागि सहकारी विभागको इजाजत आवश्यक हुनेछ ।
बिमा समितिले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकहरुलाई समेत अभिकर्ताको लाइसेन्स दिने तयारी गरेको थियो । निर्देशिका अनुसार लाइसेन्स लिनका लागि राष्ट्र बैंकको अनुमति पनि आवश्यक हुनेछ ।
संस्थागत अभिकर्ताको लाइसेन्स लिनका लागि संस्थाको संचालक वा व्यवस्थापकहरुमध्ये कम्तिमा एक जनाले समिति वा बिमा कम्पनीहरुबाट सञ्चालन गरेको अभिकर्ता तालिमममा सहभागी भई प्रमाणपत्र लिएको हुनु पर्नेछ । यसैगरी अभिकर्ताको सञ्चालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एसईई वा सो सरहको परिक्षा उत्तिर्ण गरेको हुनुपर्ने तथा संस्थागत अभिकर्ताको प्रवन्धपत्र नियमावली वा विधानमा कुन किसिमको बिमा अभिकर्ता भई कार्य गर्ने हो, त्यसबारे उल्लेख गरेको हुनुपर्नेछ ।
संस्थागत अभिकर्ताको लाइसेन्स लिनका लागि अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, लेखापरिक्षण प्रतिवेदनसहित समितिमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
अभिकर्ताले विद्युतीय प्रणालीबाट बीमा शुल्क संकलन गरी बिमा कम्पनीलाई भुक्तानी गर्न पाउने र विद्युतीय माध्यमबाटै बिमा प्रस्ताव फारम भर्न सहयोग गर्न सक्ने व्यवस्था निर्देशिकामा छ । बिमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने पुनः बिमा गर्नुपरेमा सहयोग गर्न सक्नेछन् । संस्थागत अभिकर्ताले विद्युतीय प्रणालीमार्फत बीमकको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउन सक्ने छन् । यो सेवा संचालनका लागि अभिकर्ताले विद्युतिय प्रणाली मार्फत कारोबार गर्नका लागि सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गरेको हुनु पर्ने प्रावधान छ । यसैगरी प्रणाली प्रयोग गरेर बीमितलाई बिमा गर्न बाध्य पार्न भने नपाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्