मुम्बुई–दिल्ली हवाई रुट विश्वमै तेस्रो व्यस्त

गत वर्ष दैनिक १ सय ३० उडानका साथ भारतको राजनीतिक र आर्थिक राजधानी मुम्बई–दिल्ली हवाई रुट विश्वकै तेस्रो व्यस्त रुट भएको छ ।
गत वर्ष दुई विमानस्थलबीच कुल ४७ हजार ४ सय ६२ तालिकाको उडान सञ्चालन भएको थियो । यो दक्षिण कोरियाको जिम्पो–जेजु रुटको ६४ हजार ९ सय ९१ उडान र अस्ट्रेलियाको मेलबर्न–सिड्नीको ५४ हजार ५ सय १९ उडानपछिको तेस्रो भएको बेलायतको ओएजी एभिएसन वल्र्डवाइडले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
यो वर्गीकरण दुई सहरको आधारमा भन्दा पनि दुई घरेलु विमानस्थलले सञ्चालन गरेको कुल उडानका आधारमा निर्धारण गरिएको हो ।
यसैबीच बैंगलोर–दिल्ली ११ औं व्यस्त रुट भएको छ । यो रुटमा गत वर्ष २९ हजार ४ सय २७ उडान भएको थियो । बैंगलोर–मुम्बईबीच भएको २३ हजार ८ सय ५७ उडान विश्वमै १६ औं व्यस्तमा परेको छ ।
विश्वका ५ व्यस्त हवाई रुटमध्ये ४ एसिया–प्रशान्त क्षेत्रका छन् । ब्राजिलको रियो दि जेनेरियो–साओ पाओलोबीचको उडान पाँचांै स्थानमा परेको छ ।
अन्तर्राष्ट्रिय रुटमा पनि शीर्ष पाँच एसियाभित्रै रहेका छन् । गैरएसियाली रुटमा न्युयोर्क ला गार्डिया–टोरन्टो छैटौं स्थानमा परेको छ । डब्लिन–लन्डन हिथ्रो नवांै स्थानमा परेको छ । हङकङ–ताइपेई गत वर्ष विश्वकै व्यस्त अन्तर्राष्ट्रिय रुट भएको छ ।
घरेलु र अन्तर्राष्ट्रिय दुवैका आधारमा हङकङ–ताइपेईको रुट विश्वकै ११ औं व्यस्त रुट भएको छ ।
२० व्यस्त घरेलु रटलाई आधार मान्ने हो भने जापानको टोकियो हानेडा–ओशाका शीर्ष स्थानमा परेको छ । यो रुट २१ हजार ९ सय उडानका साथ विश्वकै १७ औं व्यस्त रुट भएको छ ।