एनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिवर्तन «

एनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिवर्तन

एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरी विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरु नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन् ।
गत जेठ ९ गते नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो । प्राधिकणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तर्राष्ट्रिय कलशुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर हुने भएको छ ।
नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार १८ वटा देशहरुको शुल्क करबाहेक प्रतिमिनेट ३० रूपैयाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कल शुल्क करबाहेक ३०.६५ रूपैयाँ निर्धारण भएको एनसेलले जनाएको छ । यसअघि यी देशमा कल गर्दा गन्तव्य देश अनुसार प्रतिमिनेट ४.९९ देखि १५ रूपैयाँसम्म लाग्ने गरेको थियो । अझै पनि माल्दिभ्सका लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा कम रहेको कम्पनीको दावी छ ।
अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएकाले विगत ५ वर्षदेखि एनसेलले अन्तर्राष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको जनाएको छ । यसअघि एनसेलले यी देशका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्कभन्दा ६ गुणा कम दरमा ग्राहकलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो ।
सन् २०१६ देखि २०२१ अप्रिलसम्ममा एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको जनाएको छ । विगत ५ वर्षमा एनसेलले अन्तर्राष्ट्रिय कलबाट हुने आयमा २७.५ करोड रूपैयाँभन्दा बढी नोक्सान भोगेको दावी गरेको छ । केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दर बढी रहेकाले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जन पश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने बताइएको छ । प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट ३० रूपैयाँ रहेपनि कल गरिने गन्तव्य देशअनुसार कुनै–कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क करबाहेक १ देखि १७०.३० सम्म रहेको छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत हालसम्म १ अर्ब २७ करोड रूपैयाँभन्दा बढी रकम खर्च गरिसकेको जनाएको छ । यस्तै देशको आर्थिक सामाजिक विकासमा योगदान पु¥याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्