भक्तपुरमा विद्युत् तार भूमिगत गरिने «

भक्तपुरमा विद्युत् तार भूमिगत गरिने

भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिकाभित्र अव्यवस्थित रहेको तार भूमिगत गर्ने योजनाअघि सारेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित तार र केबलबाट ऐतिहासिक, संस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण भइरहेको बताउँदै सम्पदा बस्तीभित्र तारहरू भूमिगत गर्ने विषय चुनौतीपूर्ण रहेको हुँदा सम्बन्धित सरोकारवाला र जनताबीच आवश्यक छलफलपश्चात कार्यान्वयन सहज हुने बताए ।
भक्तपुर नपाभित्रको मुख्य बजार क्षेत्रमा ढुंगा छाप्ने कार्य गरिसकेको अवस्थामा पुनः तार भूमिगत गर्ने विषयले अन्योलता ल्याएको बताउँदै उनले तार भूमिगत गर्ने विषयमा आवश्यक सहकार्य र पहलका लागि नगरपालिका सकारात्मक रहेको बताए । उनले तार भूमिगत गर्ने विषयमा भक्तपुरबासी जनता सकारात्मक रहेको बताए । उनले तार भूमिगत गर्दा देखिने चुनौतीका विषयमा आयोजनाले आवश्यक ध्यान दिनुपर्ने र यथाशीघ्र आयोजनाको काम अगाडि बढाउन पनि आग्रह गरे ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ललितपुर र भक्तपुरमा भूमिगत तार व्यवस्थाका आयोजना प्रमुख वीरेन्द्रकुमार झाले भक्तपुरको तार भूमिगत गर्ने विषयमा मन्तव्य राखेका थिए । उनले अन्डरग्राउन्ड केबलको विषयमा जनस्तरमा सूचना प्रवाह गर्नसके जनताबाट साथ र सहयोग पनि पाउने र आयोजना पनि समयमै सम्पन्न हुने बताए ।
आयोजनाका केदारराज सिलवालले ऐतिहासिक नगरी भक्तपुरमा अव्यवस्थित तारले नराम्रो प्रभाव पारिरहेको हुँदा तार भूमिगत गर्न सकेको खण्डमा भक्तपुर सुन्दर र सुरक्षित पनि हुने बताए ।

प्रतिक्रिया दिनुहोस्