पर्यटन रोयल्टीको रकम खर्च गर्न अन्योल «

पर्यटन रोयल्टीको रकम खर्च गर्न अन्योल

सोलुखुम्बु जिल्ला समन्वय समितिको खातामा रहेको २२ करोड रोयल्टी अझै कार्यान्वयनमा आएको छैन । आर्थिक् वर्ष २०७२/०७३ मा हिमालको सलामी दस्तुर बापत जिल्लाले पाएको पर्यटन रोयल्टीको ४० करोडमध्ये करिब २२ करोड तत्कालीन जिल्ला विकास समितिले खर्च गर्न सकेको थिएन ।
बाँकी रहेको २२ करोड रुपैयाँ जिल्ला समन्वय समितिको खातामा भएपनि अझै निकासका लागि समस्या देखिएको छ । अर्थ मन्त्रालयले निकासाका लागि फुकुवा गरेको भनेपनि पत्राचार नगर्दा बजेट कार्यान्वयनमा समस्या भएको जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले बताए ।
थन्किएको रोयल्टीलाई जिल्लाका विभिन्न स्थानीय तहमा आवश्यकताका आधारमा भवन निर्माण गर्ने भनिएपनि हालसम्म त्यो काम भने भएको छैन । हालसम्म जिल्लाका विभिन्न स्थानीय तहका करिब २८ वटा वडाले आफ्नो भवन निर्माणका लागि समन्वय समितिमा निवेदन दिएका छन् ।
यसअघि यो बजेट कार्यान्वयनका लागि जिल्लाका स्थानीय, प्रदेश र संघीय सरकारका जनप्रतिनिधिसँग छलफल भएको थियो । तर अझै अर्थ मन्त्रालयले खर्चको अख्तियारी नदिएकाले कार्यान्वयनमा समस्या भएको प्रमुख राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्