किसानले पाएनन् क्षतिपूर्ति «

किसानले पाएनन् क्षतिपूर्ति

गत वैशाखमा परेको असिना पानीका कारण तरकारी र फलफूललगायतको बाली नष्ट भएको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका किसानले दुई महिना बित्न लाग्दासमेत क्षतिपूर्ति पाएका छैनन् ।
किसानले लगाएको ४८ करोड रुपैयाँ बराबरको फलफूल र तरकारी बाली नष्ट भएको विवरण त्यहाँका कृषि शाखाले सार्वजनिक गरेका थिए । त्यस लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधि, जिल्लामा कृयाशिल राजनीतिक दलका नेता राहत र क्षतिपूर्ति उपलब्ध गराउने भन्दै पीडित किसानका खेतबारी पुगेर मल–बीउ र सहुलियत कर्जाका साथै फलफूल र तरकारी बालीमा भएको क्षतिमा राहत उपलब्ध गराउने आश्वासन दिएका थिए ।
तर किसानले भने दुई महिना बित्न लाग्दा समेत राहत तथा क्षतिपूर्ति पाएका छैनन् । असिनाले गरेको क्षति र प्रभावित किसानको विवरण टिपेर हिँडेका सरकारी प्रतिनिधि त्यसपछि किसानको सम्पर्कमै नरहेको अगुवा कृषक मेघेन्द्र गुरुङ्गले बताए ।
प्रभावित किसानलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन स्थानीय तहले प्रदेश र संघीय सरकारलाई क्षतिको विवरणसहित माग गरेपनि अहिलेसम्म प्रदेश र संघीय सरकारका विभागीय मन्त्रालयले राहत र जवाफ कही नदिएको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले बताए । असिना पानीका कारण यी क्षेत्रमा लगाइएको तरकारी र फलफूल करिब ९० प्रतिशतसम्म नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्