साततले दरबार पुनर्निर्माण फागुन दोस्रो साताबाट «

साततले दरबार पुनर्निर्माण फागुन दोस्रो साताबाट

नुवाकोट-भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित आसपासका धार्मिक तथा ऐतिहासिक सम्पदा पुनर्निर्माण आगामी फागुन दोस्रो सातादेखि सुरु हुने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहित चिनियाँ पक्षले आइतबार दरबार र आसपासका संरचनाको अवलोकन गरेपश्चात पुनर्निर्माणको काम अघि बढाउन अझै करिब तीन महिना लाग्ने बताए ।
उनका अनुसार भूकम्पले क्षति पुगेको नुवाकोटको साततले दरबार तथा दरबार क्षेत्रको पुनर्निर्माणको सम्पूर्ण जिम्मेवारी लिएको चिनियाँ पक्षले काम सुरु गर्न आवश्यक तयारी पूरा गरे पनि यही समयमा नेपालीको ठूला चाडपर्व परेको र आगामी फ्रेबुअरीमा चिनियाँ ल्होसार पर्व एक महिनासम्म मनाइने भएकाले काम सुरु गर्न सन् २०१९ को मार्च लाग्ने देखिएको हो ।
“काम सुरु गर्न केही ढिलाइ भएको छ,” उनले भने, “दरबारको हाल रहेको संरचना र स्वरुपलाई कायम राखी तोकिएको अवधिमा पूरा गर्न भने प्राधिकरण गम्भीर भएर लाग्नेछ ।”
पूर्वराजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा नुवाकोटमाथि विजयी गरेपश्चात काठमाडौंसहित उपत्यकामा रहेका मल्ल राजालाई टक्कर दिने उद्देश्यले बनाएको दरबार नौ तले भए पनि वि.सं १९९० सालको भूकम्पले क्षति पुगेपछि सात तलामा घटाइएको थियो । साढे तीन वर्षअघि वि.सं २०७२ सालको भूकम्पले पूरै क्षति पुगेको दरबार अहिले टेको लगाएर अड्याइएको छ ।
चिनियाँ पक्षले दरबारसहित दरबार आसपासमा रहेका तुलजा भवानीको मन्दिर, रंगमहल, गारद घरलगायतका करिब एक दर्जन धार्मिक तथा ऐतिहासिक संरचना ‘भूकम्पपछिको पुनर्निर्माण सहयोग’ कार्यक्रम अन्तर्गत पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्