सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नका लागि प्रदेश सभा सचिवालयमा दर्ता गराएको प्रस्तावमा मंगलबार भएको मतदानबाट मुख्यमन्त्री भट्ट ३० मत पाएका हुन् । उनको विपक्षमा नौ मत परेको छ । मुम्यमन्त्री भट्टलाई उनकै दल नेकपा माओबादी केन्द्रका १३ र एमालेका १७ प्रदेश सांसद्ले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका थिए ।
नेपाली कांग्रेसका १२ जना तटस्थ बसे भने नेकपा एमालेका केपी ओली समूहका सात जना सांसद् र जनता समाजवादी पार्टीका दुबै जना सांसद्ले विपक्षमा मतदान गरेका थिए । नेकपा एमाले प्रदेश संसदीय दलले विपक्ष मतदान गर्ने सांसद्हरुलाई कारबाही गर्ने जनाएको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गा विकले कानुनसम्मत गरिकाले अगाडि बढ्ने बताइन् ।
माधव नेपाल समूहको वर्चश्व रहेको एमाले संसदीय दलले पक्षमा मत दिने निर्णय गरेको थियो । नेपाली कांग्रेस संसदीय दलले कम्युनिष्टबाट विश्वासको मत पुग्ने भए तटस्थ बस्ने र नपुग्ने पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री भट्टको प्रस्तावमाथि छलफल गर्दै नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द बोहराले सरकारको साथमै रहेको बताए ।
५२ सदस्य रहेको प्रदेश सभामा एमालेका सभामुख सहित २५ जना प्रदेश सभा सदस्य छन् । सभामुखले मतदानमा भाग लिएनन् । माओवादीका १३, कांग्रेसका १२ र जसपाका २ जना सांसद् छन् ।
२०७४ फागुनमा एमाले र माओवादीका ३९ जना प्रदेश सभाका सदस्य समर्थनमा भट्ट मुख्यमन्त्री भएका थिए । एमाले दुई खेमामा विभाजन भएकै कारण सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपरेको हो ।
एमालेको थायी समितिले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि प्रदेश संदसीय दलले मन्त्री हेरफेर गर्दै समर्थन कायम राख्ने निर्णय गरेको थियो । ओली समूहका प्रदेश सांसद्हरुले सदनमै मुख्यमन्त्री भट्टको सरकार अल्पमतमा परेको भन्दै मन्त्रीपरिषद् विस्तारको आलोचना गरेपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका थिए । उनले सोमबार संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री भट्टले विश्वासका आधारमा संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्ने तथा जनताले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने उनले बताए । प्रदेश सभाको बाँकी कार्यकालमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको परिणामहरू धमाधम आउन थालेको बताए ।
‘वितेका तीन वर्षमा हामीले संघीयताको जग बसाल्यौं,’ मुख्यमन्त्री भट्टले भने, ‘कतिपय कुरा संस्थागत गर्न, कानुन निर्माण गर्न समय खर्चियौं, अब ती कुराहरुमा अल्झिनुपर्ने छैन । हामीले विगतमा गरेका कामको परिणाम आउन थालेको छ ।’