मर्मत गरिएको बेलिब्रिज १ वर्ष नपुग्दै जीर्ण «

मर्मत गरिएको बेलिब्रिज १ वर्ष नपुग्दै जीर्ण

रुकुम-राप्ती लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसीकोट–४ बैरागिठाँटीमा पर्ने बेलिब्रिज जीर्ण बनेको छ । मर्मत गरिएको एक वर्षमै बेलिब्रिज जीर्ण बनेको हो ।
२०६२ सालमा निर्माण भएको बेलिब्रिज जीर्ण बनेपछि गत वर्ष मर्मत गरिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारीको करिब २५ लाख लागतमा ब्रिज मर्मत गरिए पनि मर्मतको एक वर्ष नबित्दै पुनः जीर्ण बनेको हो । पुलमा राखिएका फलामका पाता टुक्रिएर झर्न लागेका छन् । यसले गर्दा पुलमा दर्जन बढी ठूला प्वाल परेका छन् । केही पाता भने उप्किएर ठाडिएका छन् । पुलमा ठूला ठूला प्वाल पर्नु र पाताहरु उप्किएर ठडिएपछि जोखिम बढेको छ । पुल जीर्ण बनेपछि दैनिक सयौं सवारी साधन जोखिम मोलर पुल वारपार गर्न बाध्य भएका छन् ।
यस सडकखण्ड भएर दैनिक सयौं गाडी रुकुम भित्रिने तथा रुकुमबाट बाहिरिने गरेका छन् । पुल जीर्ण बन्दा पनि सरोकारवाला निकाय भने मौन छन् । पुलको मर्मतका लागि सडक डिभिजन कार्यालय चौरजहारीलाई पटकपटक आग्रह गरिए पनि कार्यालयले कुनै वास्ता नगरेको मुसिकोट नगरपालिका प्रमुख देविलाल गौतमले बताए । “खर्चका हिसाबले हाम्रो एक्लैको लागतमा पुल मर्मतको सम्भावना छैन्,” नगरप्रमुख देविलाल गौतमले भने, “पुल जीर्ण बन्दै गएपछि पटक पटक आग्रह गरेका छौं तर कार्यालयले कुनै वास्ता गरेको छैन ।” तत्कालै पुलको मर्मत नगरिए ठूलो दुर्घटना हुनसक्ने स्थानीयको चिन्ता छ । दिनहुँ पुल जीर्ण बन्दै गएको र जोखिम पनि बढ्दै गएको अवस्थामा पुलको मर्मतका लागि सडक डिभिजन कार्यालय मौन छ ।
पुल मर्मतको कुनै योजना नरहेको कार्यालयले जनाएको छ । कार्यालय विगत एक महिनादेखि प्रमुखविहीन छ । तत्कालीन डिभिजन प्रमुख आशिस थापामगर एक महिना अगाडि सरुवा भएर गएपछि अहिलेसम्म कार्यालयमा प्रमुखको सरुवा भएको छैन । यसले गर्दा नयाँ योजना निर्माणमा समस्या छ । प्रमुख नहुँदा कार्यालयको कामकाज धानिरहेका सबइन्जिनियर टोपेन्द्र खड्काले उक्त बेलिब्रिज मर्मतका लागि कार्यालयमा कुनै योजना भए नभएबारे आफूलाई जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्