गाई–भैंसीलाई सुत्केरी भत्ता, किसानलाई ट्याक्टर «

गाई–भैंसीलाई सुत्केरी भत्ता, किसानलाई ट्याक्टर

झापा-झापाको हल्दिबारी गाउँपालिकाले ‘किसानको खुसी, पशुपालन र कृषि’ भन्ने नारासहित गाई–भैंसीलाई सुत्केरी भत्ता दिन सुरु गरेको छ । कृत्रिम गर्भाधानमार्फत सुत्केरी भएका पशुलाई सुत्केरी भत्ता दिन सुरु गरेको हो ।
गाउँपालिकाले पशुको नश्लसुधार कार्यक्रमप्रति किसानलाई आकर्षण गर्नका लागि र ‘दुधालु पशुपोषण कार्यक्रम’ अन्तर्गत प्रोत्साहन स्वरुप भत्ता दिन थालेको हो । भत्ताका लागि नश्लसुधारको माध्यमबाट पशु सुत्केरी भएको प्रमाण भने अनिवार्य छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले भने, “सुविधा लिन कृत्रिम गर्भधारण गराएको प्रमाण र नागरिकता लिएर गाउँपालिका आउनु पर्नेछ, गाउँपालिकाले एक हजार रुपैयाँ उपलब्ध गराउने छ ।” दुधालु गाई–भैंसी पाल्न र कृत्रिम गर्भधारणका लागि प्रोत्साहन गर्नका लागि कार्यक्रम ल्याइएको अध्यक्ष लिङ्देनले बताए । अहिले किसानले पैसा लिएर जान थालेको उनले बताए ।
गाउँपालिकाको पशु सेवा शाखामार्फत गतवर्ष ४५० भन्दा धेरै गाईभैंसीको कृत्रिम गर्भधारण गराइएको थियो । किसानसँग उक्त प्रमाण रहेकाले धेरैलाई सेवा लिन सहज भएको बताइएको छ । यसले व्यावसायिक र उन्नत पशुपालनका लागि सहयोग पुगेकोले कार्यक्रम प्रभावकारी बन्ने गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी बताउँछन् ।
गाउँपालिका पशु सेवा शाखाको तथ्यांकअनुसार हल्दीबारीमा करिब ९ सय गाई–भैंसी दुधालु छन् । उन्नत पशुपालनका लागि किसानलाई आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याइएको र यो पनि एउटा महत्वपूर्ण कार्यक्रम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । गाउँपालिकाभित्र व्यावसायिक रूपमा १२ वटा पशुफर्म दर्ता भएर सञ्चालनमा आएका छन् । पशु बिमामा किसानलाई आकर्षित गर्न थप अनुदानको व्यवस्थासमेत गरेको घिमिरेले बताए ।
गाउँपालिकाले पशु बिमा गराउँदा सरकारले दिएको छुट तथा अनुदानपछि पनि थप किसानले बेहोर्नु पर्ने रकममा समेत ५० प्रतिशत अनुदानमा रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले बताए । गाउँपालिका पशुपालनसँगै कृषि क्षेत्रको समृद्धिमा पनि लागिपरेको छ । ‘हल्दीबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि’ भन्ने नाराका साथ सहकारी संस्थासँगको लागत साझेदारीमा खरिद गरेका ७ वटा ट्याक्टर सहकारी संस्थालाई हस्तान्तरण गरेको छ ।
खान, लगाउन र परिवार चलाउनका लागि हल्दिबारीवासी खाडी मुलुक जानु नपर्ने यसै क्षेत्रका प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देन बताउँछन् । हल्दिबारीले ल्याएका कार्ययोजनाले पाँच वर्षभित्र समृद्ध हल्दीबारी बन्ने उनले बताए । बहुआयमिक क्षेत्रलाई चुनेर अगाडि बढेको हल्दिबारीले गरिखाने कार्यक्रम ल्याएको लिङ्देनको भनाइ छ ।
कृषिलाई समृद्धिको आधार बनाएर अघि बढेको हल्दिबारीले कृषि तथा पशु प्राविधिक उत्पादन गर्नका लागि १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाइरहेको छ । समृद्धि हासिल गर्नका लागि बनाएका खाका अब कार्यान्वयन हुन लागेको अधिकृत घिमिरे बताउँछन् । गाउँपालिकाले उत्पादन बढी गर्नेलाई कम कर लगाउने र जग्गा बाँझो राख्नेलाई बढी कर लगाउने अवधारण ल्याएको छ ।
भिन्न–भिन्न राजनीतिक दलबाट जनप्रतिनिधि चुनिए पनि विकासमा हल्दीबारी अन्य स्थानीय तहभन्दा अगाडि रहेको हल्दिबारीका नागरिक बताउँछन् । हरेक विकास निर्माणको काममा नारा लिएर आएको हल्दिबारी समृद्धिको अभियानमा रहेको कार्यरत कर्मचारीको भनाइ छ ।
किसानलाई समेट्ने गरी ‘किसानको खुसी पशुपालन र कृषि’, पर्यटनलाई समेट्ने गरी, ‘फेरि पनि घुम्न जाउँ हल्दीबारी गाउँ’ र ‘पूर्वको पर्यटकीयस्थल हल्दीबारी र जलथल’, महिलाका लागि ‘हल्दिबारीका महिला विकासमा पहिला’ जस्ता नारा तय गरिएको छ । त्यसैगरी साहित्यका लागि, ‘साहित्यिक मन कृषि र पर्यटन,’ माछापालनका लागि ‘हल्दिबारीको बाचा झापाभर माछा’ बालबालिकालाई समेट्ने गरी ‘समृद्धिका पालक हल्दिबारीका बालक’ राजस्व संकलनका लागि ‘मैले तिरेको कर गाउँपालिकाको भर’ लगायत नारा तय गरेर चालू आर्थिक वर्षका कार्यक्रम अघि बढाएको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा कृषि क्षेत्रमा २ करोड बजेट विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्