बिदामा आएर रोकिएका श्रमिकको पुनः श्रमस्वीकृति खुल्यो «

बिदामा आएर रोकिएका श्रमिकको पुनः श्रमस्वीकृति खुल्यो

कोभिड संक्रमणका कारण अन्तराष्ट्रिय हवाई सेवा बन्द रहेको जनाउँदै रोकिएको श्रमस्वीकृति आंशिक रुपमा खुला भएको छ ।
वैशाख २४ बाट भौतिक रुपमा उपस्थित भएर लिने श्रमस्वीकृति सेवा बन्द गरिएको थियो । लगभग एक महिना रोकिएको श्रमस्वीकति हाललाई बिदामा आएका श्रमिकका लागि मात्र खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । कोरोना संक्रमणका कारण भौतिक रुपमा कार्यालयमा नै उपस्थित भएर लिने तत्कालका लागि पुनः श्रमस्वीकृति मात्र दिने गरी बुधबारबाट सुचारु गरिने विभागको ताहचल कार्यालयले जनाएको छ ।
कार्यालयका अधिकृत प्रदीपकुमार ढकालका अनुसार कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी वैशाख २४ देखि कार्यलयमा भौतिक उपस्थित भई लिनुपर्ने सेवा केही समय स्थगित गरिएको भएपनि वैशाख २६ बाट सुचारु हुने छ । उनले हरेक बुधबार पुनः श्रम स्वीकृतिको हकमा यसअघि बायोमेट्रिक नभएका श्रमिकहरुका लागि मात्र सेवा दिने गरी सुचारु भएको पनि बताए ।
यसअघि भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने मापदण्डमा परेको श्रमिकको श्रम स्वीकृतिको काम हवाई सेवा सुचारु नभएसम्म स्थगित गरिएको थियो । तर अनलाइनबाट श्रम स्वीकृति सेवा लिने श्रमिकका लागि भने कोटा प्रणालीबाट निश्चित संख्यामा श्रम स्वीकृति जारी भइरहेको जनाइएको छ ।
आइरिस र बायोमेट्रिक लिन कार्यालय नै जानुपर्ने श्रमिकमध्ये पुनः श्रम स्वीकृति लिने श्रमिकका लागि कार्यालयले पहिलो चरणमा सेवा सुचारु गरेको हो । हाल केही देशका लागि हवाई सेवा सुचारु भएपछि बिदामा आएका तर, यसअघि बायोमेट्रिक नगरेका कारण अनलाइन श्रम स्वीकृत लिन नपाई रोकिएका श्रमिकले श्रम स्वीकृति गर्न पाउने विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भौतिक रुपमा सेवा प्रवाह गर्दा संक्रमणको जोखिम बढेको र कतिपय अवस्थामा सेवाग्राही नै संक्रमण भएकाले केही समयका लागि भौतिक रुपमा उपस्थित भएर दिँइदै आएको श्रम स्वीकृति सेवा बन्द गरिए पनि हाल खुला गरेको बताए । श्रम स्वीकृतिको काम गर्दै आएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयले शुक्रबार श्रम स्वीकृति सेवा बन्द गरिएको मध्ये पुन श्रम स्वीकृति खुला गर्न सूचना जारी गरेको थियो । वैदेशिक रोजगार कार्यालयले यसअघि दैनिक तीन सय जनाको श्रम स्वीकृति जारी गर्दै आएकोमा कार्यालयमा नै भौतिक रुपमा उपस्थित हुनेको संख्या एक सयको हाराहारीमा हुने गरेको जनाएको छ ।
विभाग मातहतका देशभरका ७ वटा कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवामध्ये भौतिक रुपमा उपस्थित भएर लिइने पुनः श्रम स्वीकृति सेवा लिन सकिने छ । वैदेशिक रोजगारी जानेमध्ये प्रमुख श्रम गन्तव्य कतार, साउदी अरब, युएई, बहराइन, कुबेतलगायतका देशमा जाने श्रमिकमध्ये ६० प्रतिशत श्रमिक बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने गरेका छन् ।
चालु आर्थिक वर्षको बैशाख १७ गतेसम्म १ लाख २ हजार ९४५ ले श्रम स्वीकृती लिएका मध्ये वैधानिकिकरण सहित लगभग ६५ हजारले पुनः श्रम स्वीकृति लिएका छन् । यसमा व्यक्तिगत र संस्थागत (मेनपावर कम्पनी) रुपमा ३८ हजार ५१ ले श्रम स्वीकृति लिएका छन् । यसमा पनि वैशाख महिनामा मात्र २४ हजारमध्ये १२ हजारले पुनः श्रम स्वीकृति दिएका छन् । कोरोना संक्रमणका कारण बिदामा आउने नेपाली श्रमिकको संख्या कमी आएपछि चालु आर्थिक वर्षमा पुनः श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ ।

विदेशमा पनि अलपत्र परे नेपाली
अघिल्लो लकडाउन जस्तो विदेशमा अलपत्र नेपाली श्रमिकलाई ल्याउने वैकल्पिक उडानको व्यवस्था गर्न नसक्दा विदेशमा अलपत्र पर्ने श्रमिकको संख्या बढ्न थालेको छ ।
रोजगारीका क्रम विदेशमा रहेर करार अवधि समाप्त भएका, बिरामी, बिदा आउनै पर्ने, घरेलु महिला श्रमिक, गर्भवतीलगायतका श्रमिक टिकट खरिद गरेर पनि नेपाल फर्कन नपाउँदा सम्बन्धित देशको नियोगमा भेला भएका छन् । स्वदेश फर्कन माग गर्दै विभिन्न देशमा रहेका नेपाली श्रमिकले नियोगमा धर्ना दिन थालेका छन् ।
कोरोना नियन्त्रण गर्न अन्तर्राष्ट्रिय उडान बन्द गरिँदा रोकिएकाहरूलाई फर्काउन वैकल्पिक उडान गर्नुपर्ने श्रमिकको माग रहेको नियोगले जनाएका छन् । नियमित उडान रोकिँदा नेपाल फर्कने तयारीमा रहेका करिब २५ हजार नेपाली श्रमिक विभिन्न श्रम गन्तव्यमा रोकिएको विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले जनाएका छन् ।
नियमित उडान रोकिँदा कतार, युएई, साउदी अरब र कुबेतलगायतका देश र मलेसियामा रोकिएका श्रमिकलाई समस्या पर्न थालेको दूतावासहरूले जनाएका छन् । टिकट लिएका र अलपत्र परेका श्रमिक नेपाल फर्काउन वैकल्पिक उडान सुरु गर्नुपर्ने अवस्था सृजना भएको मलेसियाका लागि नेपाली राजदूत डा. उदयराज पाण्डेले बताए ।
सरकारले १ हप्ताअघि कतारका लागि वैकल्पिक उडान सुरू गरेपनि यसका श्रमिकहरु ओहोरदोहोर गर्न पाएका छैनन् । बिगत वर्ष श्रमिकका लागि सञ्चालन गरिएको चार्टड उडानमा दैनिक औषत १ हजार श्रमिक स्वदेश फर्कने गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) तथ्यांकमा उल्लेख छ ।
मलेसियामा कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले रोकिएका श्रमिक नेपाल फर्कन आतुर रहेको त्यहाँ स्थित दुतावासले जनाएको छ । यसैगरी साउदी अरबबाट स्वदेश फर्कन हवाई सेवा सुचारु हुने आशामा बसेका नेपालीको संख्या बढदै गएको दुतावासले जनाएको छ ।
हाल साउदी अरबबाट अत्यावश्यक सेवाका लागि एक उडान हुँदै आएपनि श्रमिक भने आउन सकेका छैनन् । यसैगरी अन्य देश युएई, बहराइन, कुबेतमा पनि धैरे नेपाली श्रमिक स्वदेश फर्कने आशा दुतावासमा सम्पर्क गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्