Logo

छुटको सामान खरिद गर्न उपभोक्ताको घुइँचो

सरकारले छुट दिएको सामान खरिद गर्नका लागि उपभोक्ताको घुइँचो हुन थालेको छ । उपभोक्तालाई राहत दिनका लागि सरकारले खाद्यान्न व्यवस्था कम्पनी र साल्ट्र ट्रेडिङ कर्पाेरेसनबाट बिक्री हुने खाद्यान्नमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो । सोहीअनुसार ती दुई कम्पनीले गत शुक्रबारदेखि छुटमा सामान बिक्री सुरु गरेका छन् ।
बजार मूल्यभन्दा २० प्रतिशतमा सामान पाइने भएकाले पनि खरिद गर्न बिक्रीस्थलमा उपभोक्ताको भीडभाड लागेको उपभोक्ताको भनाइ छ । निषेधाज्ञा भएको कारणले गर्दा सामान खरिद गर्नका लागि बिक्री केन्द्रमा पुग्न धेरैले नसकेका भएपनि धेरैजसो उपभोक्ता हिँडेरै बिक्रीस्थलमा गएर सामान खरिद गरिरहेका छन् । दाल, चामल, तेल, नुन, चिउरा, चिनी, चामल, कर्णालीको सिमी, ग्यास र इन्डक्सन चुलो बिक्रीमा राखिएको छ । साल्ट्र टेडिङ कर्पाेरेसनका नायब महाप्रबन्धक कुमार राजभण्डारीले सामान खरिद गर्ने उपभोक्ताको भीडभाड धेरै नै भएको बताए । “खाद्यान्न, तेल, चिनी र ग्यास खरिद गर्ने उपभोक्ताको भीड धेरै भयो,” उनले भने, “बिक्रीस्थलमा भीडभाड धेरै भएपछि कोभिडको संक्रमण बढ्न सक्ने भएकाले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री खुला गरिएको छ ।” चार दिनको अवधिमा दिनभरि खुला गरिएकाले सामान खरिद गर्ने ग्राहकको भीड धेरै भएकाले व्यवस्था गर्न पनि कठिन भएको उनले जानकारी दिए । चार दिनको अवधिमा कर्पाेरेसनले ५३०६ किलो नुन, ५८३६ किलो चिनी, ३११६ किलो ठिपो, २५९९ लिटर भटमास तेल, ५४० वटा ग्यास सिलिन्डर गरेर १७ लाख २ हजार ७ सय ८८ रुपैयाँको बिक्री गरेको छ । कर्पाेरेसनले कालिमाटी, कोटेश्वर जावलाखेल, सतुंगल, भक्तपुर, बनेपा र नारायणगढमा रहेका बिक्री केन्द्रबाट खाद्यान्न बिक्री गरिरहेको जानकारी दिएको छ ।
उपभोक्ताको भीडभाड बढेपछि बिक्री कक्ष खोल्ने समय घटाएको साल्ट ट्रेडिङले घुम्ती सेवालाई भने निरन्तरता दिने भएको छ । निषेधाज्ञाको समय अवधिभर दैनिक ३ वटा भ्यानमार्फत खाद्यान्न बिक्री वितरण गर्दै आएको थियो ।
यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चार दिनको अवधिमा ३५ हजार ४ सय ४८ क्विन्टल चामल बिक्री गरेको छ । यस्तै ३३९ क्विन्टल कर्णालीको सिमी, ५८ क्विटल रहर दाल, ४२ क्न्टिल मसुरो दाल, १२ क्विन्टल रहर दाल र ४८ क्न्टिल केराउ बिक्री गरेको कम्पनीले जानकारी दिएको छ । यस्तै २१६८ लिटर सनफ्लावर तेल, १२७३ तोरीको तेल, २५० लिटर भटमासको तेल, ११०० किलो घिउ, १०९ इन्डक्सन चुल्हे र १३ वटा ग्यास बिक्री गरेको जानकारी दिएको छ । बिक्रीकक्ष दिउँसो बन्द भए पनि उपभोक्ताले फोनमार्फत खाद्यान्न अर्डर गर्दा होम डेलिभरी दिने जनाएको छ । घुम्ती सेवाबाट चामल, दाल, गेडागुडी, सूर्यमुखी तेल बिक्री हुन्छ । कम्पनीले प्रतिपरिवार ३० केजीको एक बोरा चामल र २ केजी सिमीमा छुट दिएको छ । खाद्य कम्पनीले भने बिहानदेखि बेलुकासम्म बिक्री कक्ष खुला गरेको छ ।
यस्तै कर्पाेरेसनले पाँचजनाको परिवारलाई एक महिनामा २ केजीको पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटरको भटमासको खाने तेल र एक सिलिन्डर ग्यास सहुलियतदरमा उपल्ध गराउने निर्णय भएको कर्पाेरेसनका नायब महाप्रबन्धक कुमारराज भन्डारीले जानकारी दिए । उपभोक्ताले २० प्रतिशत छुटवापत पिठो प्रतिकेजी ४४, चिनी प्रतिकेजी ६३, नुन प्रतिकेजी १६, भटमासको तेल प्रतिलिटर १८८ र खाना पकाउने एसटीसी ग्यास ११ सय २० रुपैयाँमा बिक्री गरेको छ । छुट लिनका लागि उपभोक्ताले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा परिवारको सदस्यहरूको नाम र संख्या उल्खेगरी बुझाउने पर्ने व्यवस्थाले उपभोक्तालाई झन्झट भएको छ ।
उपत्यकाका बासिन्दाले खाद्यान्न र ग्यासमा छुटको सुविधा लिन बिक्री कक्षमै पुग्नुपर्छ । निषेधाज्ञाले सार्वजनिक यातायात चल्दैन, निजी सवारी पनि पास नभई कुदाउन पाइँदैन । जसको कारणले गर्दा पनि उपभोक्तालाई बिक्रीस्थलमा पुग्ने बाध्यता छ ।
साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीले अनलाइन अर्डर लिएर पनि खाद्यान्न होम डेलिभरी गरिरहेका छन् । सरकारद्वारा घोषित छुट होम डेलिभरीमा भने उपभोक्तालाई दिइएको छैन । छुट पाउनका लागि ग्यास र चिनी किन्नु परे साल्ट ट्रेडिङकै बिक्री कक्ष पुग्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्