कमोडिटी मार्केट सञ्चालनमा ल्याउन निर्देशन «

कमोडिटी मार्केट सञ्चालनमा ल्याउन निर्देशन


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । मंगलबार बोर्डको २९औं वार्षिकोत्सवका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा मन्त्री पौडेलले सरकारले आगामी आवको बजेट वक्तव्यमा कमोडिटी मार्केट सञ्चालन गर्ने विषय उल्लेख गरेको भन्दै त्यसलाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
“बजेटमा वस्तु विनिमय बजार सञ्चालन गर्ने भनेर कार्यक्रम राखेका छौं,” उनले भने, “यसको कार्यान्वयनका लागि प्रक्रिया पनि सुरु गरिसकेका छौं, आगामी आवभित्र सञ्चालन हुन्छ ।” अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेटमा वस्तु विनिमय बजार कारोबार सञ्चालन गरी धान, मकै, गहुँ, चिया, अलैंची जस्ता उत्पादनलाई कारोबारमा समावेश गरिने उल्लेख गरेका छन् ।
कमोडिटी बजारको नियमन नहुँदा सर्वसाधारण ठगिएको गुनासो बढेसँगै सरकारले सञ्चालनमा रहेका एक्सचेन्जहरुलाई बन्द गराएको थियो । यसैगरी वस्तु विनिमय बजार सम्बन्धी ऐन—२०७४ र वस्तु विनिमय बजार सम्बन्धी नियमावली—२०७४ जारी गर्दै नियमनको जिम्मेवारी पनि बोर्डलाई दिएको थियो ।
ऐन र नियमावली जारी भएको चार वर्षसम्ममा बोर्डले एक्सचेन्ज सञ्चालनका लागि दुई पटक आवेदन खुला गरेपनि लाइसेन्स भने दिन सकेको छैन । बोर्डले गत वैशाखमा वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका—२०७७ को मस्यौदा सार्वजनिक गरेको थियो । निर्देशिका जारी भएपछि पुनः आवेदन खोलेर एक्सचेन्जहरुलाई लाइसेन्स दिने बोर्डको तयारी छ ।
यसैगरी मन्त्री पौडेलले सेयर बजारमा नयाँ लगानीकर्ता भित्रिएका कारण बजारले नयाँ उचाइ लिएको भन्दै सरकारप्रति लगानीकर्ताले गरेको विश्वासलाई गुम्न नदिने गरी काम गर्ने समेत उल्लेख गरे । उनले बजारलाई नकारात्मक असर गर्ने कुनै कुरा नल्याउन र लगानीकर्ताको सम्पत्ति गुम्न नदिनका लागि विषेश ध्यान दिन समेत बोर्डलाई निर्देशन दिए ।
कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेन्ज स्थापनाका लागि प्रक्रिया अघि बढेको जानकारी दिए । एक्सचेन्जका लागि अध्ययन सकिएको र अध्ययन प्रतिवेदनबारे बोर्डमा छलफल गरी प्रक्रिया अघि बढाइने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्