आर्थिक पूर्वाधारको मुख्य आधार घरेलु तथा साना उद्योगः व्यवसायी
नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२औं स्थापना दिवशसका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति भएको भन्दै लघु, साना तथा घरेलु उद्योगहरुको विकास, प्रवद्र्घन, सम्वद्र्घनका सन्दर्भमा यसले लिने नीति र कार्यक्रमका सन्दर्भमा विविध आयामका सन्दर्भमा महासंघका पदाधिकारीहरुको सल्लाह सुझावबाट सरकार अहिलेसम्म अगाडि आएको बताए ।
आगामी दिनमा पनि उद्योगी व्यवसायीहरुका सुझावहरुलाई महत्वका साथ लिने भन्दै उनले साना उद्योगको सन्दर्भमा सरकारले ल्याएको बजेटमा पनि महासंघकै सुझावका आधारमा धेरै विषय ल्याएको बताए । “मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको छ” उनले भने, “आगामी दिनमा पनि यस्तो प्र्रयास रहिरहने छ ।” उनले गत वर्षदेखि कोभिड महामारी सुरू भएयता यस्ता उद्योगको महत्व झनै बढेको बताए ।
साना उद्योगसँग सरकार सँगसँगै हिंड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिवद्घता व्यक्त गर्दै उनले भने, “जुनसुकै उद्योगहरुलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्छ, विशेष गरी घरेलु तथा साना उद्योगको संरक्षण गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा छ ।”
विशेषगरी साना तथा घरेलु उद्योगहरुका लागि त बजारको लिंक गरिदिनुपर्छ भन्ने मन्त्रालयको बुझाई रहेको भन्दै त्यसै अनुरुप सरकारले काम गरिरहेको उनको भनाइ छ ।
महासंघका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र भनेको स–साना उद्योगहरुको प्रवद्र्घनबाट सुरू भएको बताए । उनले विश्व अर्थतन्त्रको पाँचभाग मध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले नेपालजस्तै स–साना उद्योग एसएमईलाई नै प्राथमिकातामा राखेर त्यही नै अर्थतन्त्रको मेरुदण्ड हो भनेर अगाडि बढाएको यनले बताए ।