आजदेखि विराट ट्रेड एक्स्पो «

आजदेखि विराट ट्रेड एक्स्पो

विराटनगर- प्रदेश–१ कै सबैभन्दा ठूलो व्यापार मेला विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक मोरङ व्यापार संघले बिहीबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।
विराटनगर–२ शंकरपुरको खाली मैदानमा आयोजना गरिने मेलाका लागि आवश्यक स्टल र अन्य सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिका संयोजक अनुपम राठीले जानकारी दिए । “सबै तयारी पूरा भएको छ,” उनले भने, “अब उद्घाटन गर्न मात्र बाँकी छ ।”
शुक्रबार प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मेलाको उद्घाटन गर्नेछन् । मेलामा २ सय ३६ स्टलबाट बढाएर २ सय ५० स्टल पुर्याइएको छ । व्यवसायीबाट स्टलका लागि धेरै माग आएकाले ३६ बाट ५० पुर्याइएको राठीले बताए । जसमध्ये ४२ वटा अन्तर्राष्ट्रिय स्टल रहनेछ । चीन, भारत, पाकिस्तान, बंगलादेश, भुटानलगायतका मुलुकको पनि खाद्यन्न, गार्मेन्ट, फर्किचरलगायतका स्टल रहनेछ ।
संघका अध्यक्ष पवनकुमार सारडाले देश आर्थिक संकटतर्फ गइरहेको अवस्थामा आर्थिक क्षेत्रलाई गति दिन मेला आयोजना गरिएको बताए । “यो मेलाले केही न केही आर्थिक क्षेत्रमा योगदान दिनेछ,” उनले भने ।
मेलालाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्न मेलास्थलमा सुरक्षा निगरानी गर्न १ सयवटा सीसी क्यामरा जडान गर्नुका साथै चौविसै घण्टा सुरक्षा तैनाथी रहने आयोजकले जनाएको छ । पुस १४ गतेसम्म चल्ने मेला अवलोकनका लागि प्रतिव्यक्ति ६० रुपैयाँको टिकट दर कायम गरिएको छ । मेलामा औद्योगिक र कृषि उत्पादका साथै मनोरञ्जनका विविध साधनहरूको समेत व्यवस्थापन गरिएको छ । मेलामा ९ दिनको अवधिमा २० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्