Logo

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘८.५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३’ नामको ऋणपत्र जेठ २५ गते मंगलबारबाट बिक्री खुला हुने भएको छ ।
बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । ‘८.५ आरबीबीएल डिबेन्चर, २०८३’ नामको प्रतिकित्ता एक हजार रूपैयाँका दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।
ऋणपत्र निष्काशन तथा बिक्री का लागि ‘एनआईबीएल एस क्यापिटल लिमिटेड’ र निष्काशनकर्ता कम्पनी ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ को आपसी सहमतिमा बिक्री वितरण गरिने छ । सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीकालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ । छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने ‘केयर–एनपी ए (आईएस) रेटिङ्ग प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको विवरणपत्र बैंकको वेबसाइटमा समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्