लोकप्रीय हुँदै ‘थाली नाच’ «

लोकप्रीय हुँदै ‘थाली नाच’

विश्वभर प्रख्यात थालीनाचको उद्गम थलो रघुगंगा गाउँपालिका–७ चिमखोला विविध कलासंस्कृतिले भरिएको गाउँ हो । एक गाउँ अनेक कलासंस्कृतिको उद्गम थलो चिमखोला सांस्कृतिक विविधताले चिनिएको छ ।
चिमखोलामा थालीनाचसँंगै जुरेचल्ला, शर्माजाले, कलश जुधाउने, टोपा नाच, भूमे खुसी बनाउन कालोमोसो लगाउने मौलिक संस्कृतिले चिनिएको छ । पात्लेखर्कका ७२ वर्षीय नर्गेद्र पुनले भूमे पूजाको अवसरमा सोरठी नृत्य शर्मा जाले, जुरे चल्ला, थालीनाच, कलश जुधाउनेलगायतका संस्कृति प्रस्तुत गर्दै संस्कृतिलाई गाउँले संरक्षण गर्दै आएको बताए ।
“थालीनाच चिमखोलाको मौलिक पहिचान भएको छ,” अग्रज लोक कलाकार थापाले भनिन् । लोकप्रिय बनिरहेको थालीनाचको उद्गम थलो म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला हो । वि.सं २००८ सालमा चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले थाली नाचको सिर्जना गरेकी हुन् ।
“यो देशको सबै कला संस्कृति सपारौ
यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौं ।”
म्याग्देली कलाकार लाली बुढाथोकी र मिना गर्बुजाको स्वर रहेको दिलकुमारी राम्जालीको ‘खुसी लाग्छ नेपाली हुनुमा’ भन्ने एल्बमको सालैजो भाकाको यो गीतमा जस्तै म्याग्दीको मौलिक थालीनाचले लोकप्रियता कमाउँदै गएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट चार दशक अघि सुरु भएको थाली नृत्यप्रति आकर्षण बढ्दै गएको छ । गीतको लय र शब्दसँंगै हातमा थाल राखेर गरिने थाली नृत्य नेपालमा मात्र सीमित नभई सात समुन्द्रपारि प्रवाससम्म पुगेको छ ।
हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ । सावधानीपूर्वक गरिने थालीनृत्य मौलिक, आकर्षक र संयमित भएकाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नृत्यसम्बन्धी गीत पनि रेकर्ड भएकाले यसको लोकप्रियता अझै बढेको छ । देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलनमा मात्र नभएर विदेशमा समेत थालीनाच देखाउने गरिएको कलाकार कलाकार धनकुमारी थापाले बताइन् ।

वि.सं २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेकी थिइन् । वि.सं २०४४ सालमा काठमाडौमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थालीनाच राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई थाली नामाकरण गरिएको हो ।
पुन र धनकुमारी थापासहितको ४ जनाको टोलीले वि.सं २०४२ मा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेका थिए । २०३५ सालमा शान्ति पुन र थापाले थाली नाचसम्बन्धी गीत रेकर्ड गराएका थिए । उक्त गीतको वि.सं २०७३ मा म्युजिक भिडियो छायांकन गरिएको छ । घुचुप्प घरहरू रहेको चिमखोला सांस्कृतिक गाउँको रूपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्