प्रदेश–२ बजेट अधिवेशन सुरू «

प्रदेश–२ बजेट अधिवेशन सुरू


प्रदेश–२ को छैठौं अधिवेशन सोमबारदेखि सुरू भएको छ । सत्ता समिकरणको दाउपेचकाबीच प्रदेश–२ सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रदेश सभामा छलफलका लागि पेश गरेको छ ।
सोमबारदेखि सुरू भएको प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
विनियोजन विधेयकमा मुलुकको पन्ध्रौ आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम जनता समक्ष गरिएको प्रतिवद्धताहरु पूरा गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट लक्षित रहने आर्थिक मामिला तथा योजनामन्त्री यादवले जनाएका छन् ।
प्रादेशिक योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी आर्थिक वर्ष २०७८/०७९ को बजेट आउने मन्त्री यादवको दावी छ । विशेषत कोरोना महामारीको दोस्रो लहरले पारेको प्रभावलाई नियन्त्रण गर्दै प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउने प्राथमिकता र नीतिहरु बजेटमा समावेश गरिएको उनको भनाइ छ ।
त्यसैगरी विधेयकमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुमा हाल देखिएको कोरोना महामारी नियन्त्रण गर्न र आम नागरिकहरुको जीउ ज्यानको रक्षाको लागि चालेका कदमले संघीयताको महत्वलाई स्थापित गरेको दावी गरिएको छ ।
जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सम्बन्धीहकको कार्यान्वयन गर्न र कोरोना साथै विधेयकमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाले देशको समग्र अर्थ व्यवस्थामा गम्भिर असर परेको अवस्थामा प्रदेश सरकारको राजस्व संकलनमा समेत संकुचन आएको उल्लेख छ । कोरोना महामारीको दोश्रो लहरबाट सृजित अवस्थाको नियन्त्रण, रोकथाम उपचार तथा भविष्यमा आउन सक्ने यस्ता महामारीको विरुद्ध लड्न स्वास्थ्य क्षेत्र नै बजेटको प्राथामिकतामा पर्ने मन्त्री यादवले पेश गरेको विधयेकमा उल्लेख गरिएको छ ।
प्रदेशको राजस्वलाई महत्वपूर्ण योगदान पुर्याउने उद्योगहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्राथामिकता दिने, राजस्व संकलन प्रणालीलाई सुधार गरी प्रदेशको राजस्वको दायरालाई विस्तार गर्ने नीति प्रदेश सरकारको रहेको मन्त्री यादवले बताए । विधेयक पेश गर्दै मन्त्री यादवले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनुपर्ने चुनौति थपिएको बताए ।
सोमबार बसेको प्रदेशसभाको अधिवेशनमा जनता समाजवादी पार्टीका महन्थ पक्षका प्रदेशसभा सदस्यहरु भने सहभागी भएनन् । आइतबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित ४ मन्त्रीलाई प्रदेश सरकारले बर्खास्त गरेपछि तत्कालीन राजपाका सांसदहरूले मुख्यमन्त्री लालबाबु राउतले एकलौटी गरेको भन्दै प्रदेशसभा बैठकमा सहभागी नभएका हुन् । प्रदेश सभाको अर्को बैठक जेठ २५ गते मंगलबार दिउँसो १ बजे पुनः बस्ने र सोही बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्