दुई दशकदेखि भारत निर्यात हुँदै परबर
कृषि उत्पादन क्षेत्रमा भारतको भर पर्ने जिल्ला हो कञ्चनपुर जिल्ला । वर्षेनी जिल्लालाई चाहिने तरकारी सिजनमा होस् या अफ सिजनमा धेरैजसो तरकारी भारतबाटै आयात हुन्छ । विदेशी तरकारीमा धेरै क्षेत्र ओगटेको जिल्लामा पछिल्लो समय भने आफ्नै उत्पादनमा निर्भर हुन थालेको छ ।
कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा गाउँभरी नै परबर खेती हुँदै आएको छ । २०५० सालदेखि यहाँका स्थानीयले परबर खेती गर्दै आएका छन् । नगरपालिकाको जोगबुढा नदी पारी यस गाउँमा झण्डै ४० घरपरिवार नेपाली बस्छन् । घरको आगनमै भारतको सिमाना पर्ने यहाँका स्थानीय भारतमा परबर राम्रो बिक्री हुने भएपछि वर्षाैदेखि परबर खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
“परबर खेती सुरु गरेको लामो समय भयो, तत्कालिन राजा महेन्द्रले सिमानाका क्षेत्रमा बस्ती बसाउने योजना पछि २०२२ सालपछि हाम्रो बसोबास भएको हो,” दोधरा चाँदनी नगरपालिका–१० का स्थानीय खड्के बुढाले भने, “बस्तीको बसेको समयदेखि २०५० सालबाट परबर खेतीको बारेमा बुझेपछि खेती सुरू गरिएको थियो, हालसम्म आएर पनि खेती सुचारु नै छ ।” भारतसँग सीमा जोडिएको कुतियाकबरका प्रत्येक घर परिवारले अहिले परबर खेती गर्दै आएको छ । यसले गर्दा रोजगार नभएका स्थानीयलाई परबर खेतीले रोजगार समेत दिएको स्थानीय बुढाले बताए ।
स्थानीयका अनुसार सिजनमा एक विगाहामा लगाएको परबरले लगानी छाडेर तीनदेखि पाँच लाखसम्म मुनाफा कमाउन सकिन्छ । यस्तै खेतमा एकचोटी लगाएको परबरले तीन वर्षसम्म लगातार फल दिने स्थानीयले बताए । जंगली जनावरले पनि समस्या नगर्ने तथा रोगले पनि असर नगर्ने परबर स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तर नेपाली नागरिकले भने परबर खेतीको बारेमा नबुझेका कारण कुतियाकबरका नागरिकले लगाएको परबर खेती विगत वर्षाैंदेखि भारत निर्यात हुँदै आएको छ ।
“परबर खेती सुरू गरेको र तरकारी खान लागेको पनि वर्षाैं भयो, तरकारी पनि राम्रो हुन्छ, खेतीलाई हुकाएपछि लामो समयदेखि गाउँकै आम्दानी हुने ठूलो श्रोत बनेको छ,” स्थानीय बुढाले भने, “ परबरको पहिचान नेपालीलाई त्यति धेरै थाहा छैन, नेपाली बजारमा त्यति धेरै बिक्री पनि हुँदैन, हामीले सुरु गरेको वर्षदेखि अहिलेसम्म उत्पादन भएको परबरलाई भारत निर्यात गर्ने गरेका छौ ।”
यहाँका किसानले प्रतिकिलो ३० रुपैया भारु अर्थात ५० रुपैयाँ नेपालीमा परबरलाई भारत निर्यात गर्ने गर्छन् । नेपाली बजार नभएपनि बिक्री गर्नको लागि भारतको बजार हुने र भारत निकासीको लागि मात्रै स्थानीयले परबर खेती गर्दै आएको उनले बताए ।
अन्नवाली भन्दा परबर खेतीमा केही धेरै मेहेनत लाग्ने गर्दछ । तर मेहेनत बढी लागेपनि अन्नवाली भन्दा मुनाफा यसबाट दिन सकिने उनको भनाइ छ । दोधारा चाँदनीका अर्का स्थानीय टेक बहादुर सुनारले पनि परबर खेती गरेको दुई दशक बढी भयो । सुरु गरेको केही समयपछि माओवादी द्धवन्द्धकालमा खेती गर्न छोडेको भएपनि २०७० सालदेखि पुन गर्दै आएको स्थानीय टेक बहादुर सुनारले बताए ।
“परबर खेती सुरु गरेको केही समयपछि माओवादी द्धवन्द्धकाल लाग्यो, परबरलाई भारत निर्यात गर्ने भएपछि यसको निकासीमा भारतीय पक्षले रोकटोक तथा चेकजाँच गर्ने गरेपछि केही समयलाई व्यवसायिक उत्पादन रोक्नु पर्ने बाध्यता आएको थियो,” स्थानीय सुनारले भने, “तर पछि आएर २०७० सालदेखि भने सहज भएपछि व्यवसायिक रुपमा परबर खेती सुरु गरेको अवस्था हो ।”
यो सँगै परबर खेतीको विस्तार हुने क्रम बढ्दै गएको छ । पछिल्लो अवस्थामा नेपाली नागरिकले पनि परबरको बारेमा थाहा पाएको अवस्था भएपछि परबरको तरकारी खोज्ने मानिस गाउँमै आएर पनि किन्ने गरेको सुनारले बताए ।
दोधारा चाँदनी नगरपालिकाको जोगबुढा नदी पारि मात्रै गरिने परबर खेती अहिले अन्य ठाउँमा पनि गरिन थालेको छ । यस्तै महाकाली नदी पारि रहेको दोधारा चाँदनी नगरपालिकालाई नदीमा निमार्णाधिन पक्की पुलले पनि छोएको छ । यसले गर्दा परबर खेतीको नेपाली बजार विस्तार गर्न सहज हुने स्थानीयको मत रहेको छ ।