Logo

संक्रमित भएर मृत्यु भए दाहसंस्कार गर्न २० हजार

सिरिजङ्घा गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीलाई मासिक १५ हजार प्रोत्साहन


जिल्लाको सिरिजंघा गाउँपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई प्रोत्साहान रकम प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सोमबार बसेको बैठकले गाउँपालिका मातहतका १० वटै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई मासिक १५ हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको हो । यद्यपि स्वास्थ्य संस्थामा फिवर क्लिनिक अनिवार्य छ । यसैगरी वडा नं.–३ सिकैचा ओसेस्थित सामुदायिक स्वास्थ्य एकाइ र वडा नं.–२ आम्बेगुदिन खाम्दिम्बेमा समेत फिवर क्लिनिक सञ्चालन गर्ने भएको छ । त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई पनि मासिक ५ हजार रुपैयाँ प्रोत्साहन प्रदान गर्ने गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए ।

यसैबीच पालिकाको केन्द्र तेल्लोकस्थित ५ शय्याको अस्थायी कोभिड अस्पतालमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी र एम्बुलेन्स चालकलाई प्रोत्साहन रकम प्रदान गर्ने निर्णय गरेको हो । सुुरु स्केलको ५० प्रतिशत रकम प्रोत्साहन रुवरूप उपलब्ध गराउने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी बताए । कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रूपमा खटिएका १ जना चिकित्सक, १ जना पारामेडिक्स,१ जना नर्स, १ जना कार्यालय सहयोगले दैनिक १ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।
उनले भने, “कोरोना संक्रमण भएर मृत्यु भएकाको दाहसंस्कार गर्न २० हजार दिन्छौं । उपचारमा खाने बस्ने तथा खाजा खर्चसमेत पालिकाले नै बेहोर्छ ।” संक्रमितको गाउँपालिकास्थित अस्पतालमा उपचार सम्भव नभए चिकित्सकले रेफर गरेको अस्पतालसम्म यातायातको भाडा गाउँपालिकाले नै वेहोर्ने निर्णय गरेको छ । संक्रमितलाई पोषणयुक्त खानेकुरामा जोड दिँदै २ हजार रुपैयाँ दिने पालिकाले जनाएको छ । कोरोनाबाट संक्रमित भएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आइसोलेसनमा राख्नका लागि गाउँपालिका केन्द्र नजिकको घर भाडामा समेत लिने निर्णय गरेको छ ।

सक्रमण फैलन नदिनका लागि सक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका पालिका क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थाका इन्चार्ज एवं टोल विकास संस्थाका अध्यक्षहरूलाई सञ्चार खर्चवापत मासिक ५ सय रुपैयाँ दिने निर्णय समेत पारित गरेको छ । ८ वटा वडा रहेको गाउँपालिकामा ७२ वटा टोल विकास संस्था गठन गरेको छ । कोभिड सक्रमणको स्क्रीनिङ गर्न स्वास्थ्यकर्मीसहितको टोली आवश्यकताअनुसार वडा–वडामा खट्ने भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका ल्याब असिस्टेन्ट र १ जना स्वास्थ्यकर्मीलाई नियमानुसारको दैनिक भत्ता तथा फिल्ड भिजिट अलावा प्रोत्साहन स्वरुप खाजा तथा खाना खर्चवापत दैनिक ५ सय रुपैयाँ दिने भएको छ । सक्रमितको एक्स–रे गर्न खटिएका रेडियोग्राफरलाई प्रति केस ५ सय दिने निर्णयमा उल्लेख छ ।

गाउँपालिकाले कोभिड अस्थायी अस्पतालमा विद्युत अभाव हुन नदिन १० केभिएको जेनेरेटर तत्काल खरिद गर्ने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । पालिका मातहतका १० वटै स्वास्थ्य संस्थाका लागि ब्लड प्रेसर, अक्सिजनको मात्रा र पल्सको दर हेर्न उपयोगी हुने विप्स भाइटल मोनिटर तत्काल खरिद गर्ने भएको छ । वडा नं.–४ तेल्लोकका स्थानिय लक्ष्मी भट्टराईका अनुसार पालिकाको व्यवहारिक निर्णयले खूसी तुल्याएको बताए । भट्टराईले भने, “उपचारदेखि पोषिलो खानासम्म पालिकाले नै बहोर्ने भनेको छ । अझ रेफर हुँदा यातायात खर्च समेत उपलब्ध गराउने निर्णयले सरकार भएको आभास गराएको छ ।” गाउँपालिका अध्यक्ष गुरुङका अनुसार बाँचेमात्र धनसम्पत्ती र अवसरको महत्व हुने भएकाले नागरिकको जीवन रक्षाका लागि स्थानिय सरकार प्रतिबद्ध हुनुपर्छ । गाउँपालिकामा १६ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्