सम्बन्धहरूको व्याख्या क्षमादान «

सम्बन्धहरूको व्याख्या क्षमादान

“अनि के विषयमा रहेछ नि उपन्यास ?” मैले गणेशप्रसाद लाठको नयाँ उपन्यास ‘क्षमादान’ पढिसकेको थाहा पाएपछि सीताले सोधिन् ।
पत्नी सीता सामान्यतया यसरी मैले पढेको किताबको औचित्यको खोजी गर्दिनथिन्, तर आजको उनको यस अप्रत्याशित प्रश्नले मस्तिष्क फनफनी घुमायो । कहिले चुपचाप सोफामा बसेर र कहिले कोठामा यताउता घुम्दै पढेको देखेर सोधेकी हुुनुपर्छ । सोचेँ, साँच्चै क्षमादान कुन विषयमाथि लेखिएको छ ? के एउटा उपन्यास कुनै खास विषयमाथि केन्द्रित हुनुपर्छ ? सिङ्गै जीवनको चित्रण हैन र उपन्यास ? समीक्षकका आँखाले यो उपन्यास पढेको थिइनँ, अलमल्ल परेँ । तर, मुखबाट फुत्त फुस्कियो, “जीवनका धेरै आयाम छन् यहाँ, तर यो खासमा स्त्री–पुरुषका सम्बन्धहरूको व्याख्या हो ।”
“स्त्री–पुरुषका सम्बन्धहरूको कस्तो व्याख्या रहेछ त ? स्त्री–पुरुषका सम्बन्धहरूका कति आयाम छन् नि उपन्यासमा ?” सीताको उत्सुकता अझ मुखरित भयो ।
“स्त्री–पुरुषका अन्तर्निभरता र अन्तर्विरोधको कथा छ यहाँ । स्त्री–पुरुष आपसमा कति स्वतन्त्र र कति पर–पर वा असम्बन्धित छन् भन्ने पनि कथाले देखाउँछ ।”
“किन पढ्नुप-यो यस्तो कथा तपाईंले ?”
“क्षमादान पति–पत्नीबीचको प्रेमको बेजोड कथा हो । हामी झट्ट हेर्दा वैवाहिक सम्बन्धमा स्त्रीको पुरुषप्रतिको निर्भरता देख्छौँ, स्त्रीले आफ्नो सम्पूर्ण सुरक्षाको आधार पुरुषलाई बनाएको देख्छौँ । यस एकाकी सोचलाई चिरेर उपन्यासले पुरुषको पत्नीनिर्भरता त्यसभन्दा धेरै गहिरो छ भनेर देखाएको छ । स्त्री–पुरुषबीच यौन एक सम्बन्ध–सेतु हो, तर यस उपन्यासमा आपसी यौन–निर्भरताभन्दा अरू आयामको चिरफार छ । मानिसका सम्बन्धहरूका आयाम कति व्यापक छन्, यो उपन्यास पढेपछि बुझ्न सजिलो पर्छ । ज्योत्स्नाको एकनिष्ठ प्रेमकथा पनि हो यो ।”
यसो भने पनि कथा सकिन लाग्दा ज्योत्स्नाको जीवनमा फणीन्द्र आइसकेको अनुमान गर्न सकिन्छ । हो पनि, फणीन्द्रहरू नआइदिने हो भने जीवन रङहीन, रसहीन हुनेछ । जीवनमा सकारात्मकताको रङ घोलिदिन फणीन्द्र, गुरुमा, विनिथाहरू आउनैपर्छ, आउँछन् पनि ।
उता कुपात्र खलपात्र छ पुष्करन । जीवनभर अरूलाई गरेको अविश्वास र धोकाको परिणाम माने पनि नमाने पनि पुष्करन आफ्नै साझेदार पटवद्र्धनको षड्यन्त्रको सिकार भएर जेल पर्छ । धोका दिने उसको एकलौटी अधिकार समाप्त हुन्छ र ऊ आफ्नो जीवनमा गरेका कुकर्महरूको फल भोग्छ ।
“एए !” सीताले सङ्क्षिप्त प्रतिक्रिया जनाइन् । उनले फेरि सोधिन्, “प्रेममा क्षमाको कुरा कहाँ आउँछ ? प्रेम आफैँमा पूर्ण छैन र ?”
मैले भनेँ, “प्रेम ईश्वरीय हो वा इस्ट्रोजेन–प्रोजेस्टेरोन–टेस्टोस्टेरोनजस्ता रसायनको कुरा हो, जे भए पनि प्रेम पर्याप्त छ । जीवन प्रेममय भए पनि जसरी अबोधगम्य छ, प्रेम उसैगरी र उत्तिकै अबोधगम्य कुरा रहेछ । अनि जीवनमा क्षमा गर्न सक्नु अति कठिन कुरा रहेछ । आफूभन्दा निर्बल र सङ्कटमा फसेकालाई क्षमा गर्नु अझ कठिन कुरा रहेछ । प्रेममा मात्र यस्तो सम्भव हुने रहेछ ।” मेरो मनमा पुष्करन, सुरञ्जन, मृदुला, ज्योत्स्ना र सुलोचना घुमिरहे । पुष्करनकी ममताकी मूर्ति माता विनिथा, मृदुलाका पिता कुलभूषण पनि घुमिरहे ।
विनिथाको क्यान्सरविरुद्धको युद्ध, ज्योत्स्नाकी आमा सुलोचनाका अन्तद्र्वन्द्व, हजुरआमा वन्दनाका मानसिक उहापोहहरू बडो आश्चर्यलाग्दा छन् । लेखकले पात्रहरूलाई अनेक ठाउँमा घुमाएर पाठकलाई उतैउतै डो-याउनुभएको छ । चीन, भारत, अमेरिका र कहाँकहाँ । देशका अनेक गाउँमा पुग्छ पाठक । म पुगेँ । मैथिली, अङ्ग्रेजी, हिन्दीसमेत मजासँग सहजै प्रयोग गरिएको छ । यसले कथालाई अझ रोचक र यथार्थवादी बनाएको छ । रोम, ह्युस्टन, सिरहा, जनकपुर, डोडा मल्लुर, गोरखा, बेत्रावती र गोसाइँकुण्ड, धुलिखेल अस्पताल, कोडाइकनालको आयुर्वेदिक अस्पताल, काठमाडौँको जेल तथा उपन्यासमा वर्णित सबै स्थानहरू हाम्रो सोच–मनमै भएका विभिन्न स्थानहरू हुन् ।
सीता मेरो अनुहारमा आएका परिवर्तनहरू हेरिरहेकी थिइन् । मैले फेरि भनेँ, “मैले उपन्यासभरि आफूलाई खोजेँ, जहाँ पनि मैलाई भेटेँ । अंशमै सही, म पुष्करन हुँ, ज्योत्स्ना हुँ, मृदुला हुँ, फणीन्द्र हुँ, कमलनाथन हुँ, सुरञ्जन हुँ र वन्दना पनि हुँ । जीवनभर मैले तिमीमाथि थिचोमिचो गरेको छु सायद– अधिकार भन्ठानेर होला, कर्तव्य भन्ठानेर होला, तिमीभन्दा बलियो र ठूलो ठानेर होला । यी सबका लागि उपन्यासको चस्मा लगाएर मैले पछाडि फर्केर हेरेँ । तिमी वन्दना, गुरुमा, विनिथा, सुलोचना, ज्योत्स्ना, मृदुला सबै हौ । क्षमादान तिम्रो–मेरो कथा हो । अमेरिका, अस्ट्रेलिया र युरोपका सहरहरूमा भौँतारिइरहेका हाम्रा नानीहरूको कथा पनि हो ।”
२ सय ८१ पृष्ठमा फैलिएको उपन्यासले जीवनका जन्म–मृत्यु, हर्ष–शोक, विश्वास–धोका र सफलता–असफलताका सुन्दर र जीवन्त चित्रहरू उतारेको छ । समग्रमा स्वादिलो, पठनीय र सङ्ग्रहणीय छ, ‘क्षमादान’ । आज मैले जीवनदर्शनको लामो व्याख्या दिएँ सीताका लागि । खासमा ती सब म आफैँलाई भनिरहेको रहेछु । उता सीता अलमल्ल परेर मलाई हेरिरेकी थिइन्, यता मचाहिँ आफूले चिहाउन पाएको संसारबाट फर्केर नयाँ चेत, नयाँ ज्ञान र नयाँ जागरणले सन्तृप्त भएको थिएँ । जीवनमा क्षमा गर्न सकियो भने अथाह सुख हुने रहेछ । माधव घिमिरेको अमर काव्यकृति गौरीबाट एक हरफ पैँचो लिएर क्षमादानप्रतिको मेरो पाठकीय प्रतिक्रिया प्रकट गरूँ—
‘फेरि जीवन पाइँदैन, प्रियको सामु क्षमा माग हे ।’

प्रतिक्रिया दिनुहोस्