उज्ज्वल थापा : परिचय, राजनीतिक लाइन र चर्चा
स्याङ्जाको साविक दरौं गाउँ विकास समिति वडा नं. ७, हालको अर्जुनचौपारी गाउँपालिका–६, भेडाबारीका उदयबहादुर गोदार थापा र शान्ता थापा (रायमाझी) का दुई सुपुत्रमध्ये जेठा सुपुत्रका रूपमा उज्ज्वल गोदार थापाको २०३३ पुस महिनामा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौंमा जन्म भएको हो ।
उनले काठमाडौंस्थित भोटेबहालमा रहेको अरनिको बोर्डिङ स्कुलमा १ देखि ३ कक्षासम्म र त्यसपछि ४ कक्षादेखि उच्च माविस्तरसम्मको अध्ययन बुढानीलकण्ठ स्कुलमा गरेका हुन् । त्यसलगत्तै उच्च शिक्षा हासिल गर्नका लागि थापा अमेरिका हान्निए । प्राविधिक विषयमा उच्च शिक्षा आर्जन गरेपछि केही समय अमेरिकामा रोजगारी गर्दै आएका थापा नेपालको राजनीतिक क्षेत्रमा सुधारको खाँचो देखेर केही गरौँ भन्ने भावनाका साथ २०६३0०६४ मा स्वदेश फर्के ।
उनका श्रीमती एयरहोस्टेजका रूपमा कार्यरत छन् । थापाका बुबा, आमा र श्रीमतीसहित परिवारका सदस्यहरू काठमाडौंस्थित महाराजगन्जमा बस्दै आएका छन् । उनका भाइ सुदीप गोदार थापा हाल स्पेनमा बस्दै आएका छन् । उनले स्पेनिस (स्पेनमा जन्मे हुर्केकी महिला) विवाह गरेर उतै बसेका हुन् ।
राजनीतिक लाइन
थापाका बुवा उदयबहादुर नेपाली कांग्रेस प्रतिबन्धित हुँदा नै कांग्रेसमा सक्रिय थिए । २०२४-०२५ तिरको समयमा हो, कांग्रेसका संस्थापक नेता, महामानव बीपी कोइराला निर्वासित जीवन बिताएका बेला बीपीसँग भेट हुन नेपाली कांग्रेस स्याङ्जा स्वतन्त्रता सेनानी स्वर्गीय शिवकुमार अधिकारीको संगत र सामीप्यताले उदयबहादुर बनारस पुगे ।
बीपीसँगको भेटपछि शिवकुमार र उदयबहादुरले बनारसमै अध्ययन र भूमिगत अवस्थामा कांग्रेसको संगठनमा काम गरे । अध्ययन र संगठनका काम गर्दागर्दै उदयबहादुर थापा भारतको राजस्थानमा कृषि विषय अध्ययन गर्न पुगे । २०३३ सालमा नेपाली कांग्रेसले लिएको राष्ट्रिय मेलमिलापको नीतिअनुरूप उनीहरू नेपाल फर्किए । नेपाल फर्किएपछि उदयबहादुर आफ्नो घर भेडाबारीमा बस्दा शिवकुमारसमेत पाँच–छ महिना उदयको घरमा लुकीछिपी बस्न बाध्य भए, किनकि अधिकारीलाई पञ्चायती शासकले मुद्दा लगाएको थियो ।
बीपीको सिद्धान्तबाट प्रशिक्षित उदयबहादुर बीपीका ज्येष्ठ पुत्र प्रकाश कोइरालाको हितैषी बन्न पुगे । तत्कालीन समयमा उदयबहादुरको परिवार सबै कांग्रेसमा क्रियाशील थिए । संयोगले २०६२-०६३ को जनआन्दोलनपछि नेपाल गणतन्त्र गयो, स्वाभाविक रूपमा त्यो गणतन्त्र ल्याउने अभियानको नेतृत्व नेपाली कांग्रेसको थियो । गणतन्त्र बीपीको सिद्धान्त होइन भनेर कांग्रेसबाट प्रकाश अलग भए । हितैषी मित्र प्रकाश कांग्रेसबाट अलग भएपछि उदयबहादुर पनि कांग्रेसबाट अलग हुने निधो गरे । प्रकाश र उदयबहादुर गणतन्त्रसँगै कांग्रेसबाट अलग हुनुको नाताले दुवैको सरसंगत कस्तो थियो र कुन हदसम्म थियो ? भन्ने कुरा स्पष्ट हुन्छ ।
कांग्रेसी रहनसहनमा हुर्केका थापाले अमेरिकाबाट स्वदेश फर्किएपछि विवेकशील नेपाली समूह स्थापना गरी त्यसमार्फत नेपालमा वैकल्पिक राजनीतिक संस्कृतिको शुभारम्भ गरे । उनको नेतृत्वमा विवेकशीलले नेपाल बन्द छैन् भन्ने उद्घोष, हत्या हिंसामा आधारित राजनीतिक वातावरणलाई शान्त र सुसंस्कृत बाटो देखाउने अभियान र स्वास्थ्य तथा शिक्षामा सबैको समान पहुँच हुनुपर्छ भन्ने नेपालीहरूको मन छुने नारा दिएर अगाडि बढ्न थापाले पाइला चाले ।
पहिलो संविधानसभामा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका विवेकशील केही सदस्यहरू समय अन्तरालसँगै दोस्रो संविधानसभा राजनीतिक पार्टीका रूपमा विवेकशील नेपाली दलमार्फत चुनावमा भाग लिएका थिए । उनीहरूले तत्कालीन समयमा मतदाताको उल्लेख्य मत हासिल गर्न त सकेन, तर चर्चाका हिसाबले विजय सरह नै थिए !
नेपालको नयाँ संविधान, २०७२ बनेपछिको पहिलो आमचुनावमा रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी र थापाले हाँकेको विवेकशील नेपाल दल मिलेर बनेको विवेकशील साझा पार्टीमार्फत भाग लिएका थिए । स्याङ्जाली थापा र पत्रकारिता क्षेत्रका मिश्र पार्टीको सहअध्यक्ष बनेका थिए तर एकता केही समयमै तोडियो । जुट्नु र छुट्ने क्रम जारी छ ।
राजनीतिक उपलब्धिलाई हासिल गर्दै जाँदा नेताको प्रवृत्तिमा आमूल परिवर्तन र नेताले होइन कि जनताले परिवर्तनको अनुभूूति गर्न पाउनुपर्छ भन्ने आचरणका पक्षपाती थापा नेपाली राजनीतिमा प्राप्त उपलब्धिलाई परिष्कृत शैलीबाट उपभोग र उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने शालिन र भद्र शैलीका राजनीतिज्ञ थिए ।
बीपी कोइरालाको सैद्धान्तिक प्रशिक्षणमा शिवकुमार अधिकारी र उदयबहादुरको सम्बन्धका बारेमा थप प्रस्ट पार्दै जिल्ला विकास समितिका पूर्वसभापति रामबहादुर थापाले लेखकलाई भन्छन् ः प्रकाशजी उहाँहरूको सम्बन्ध त असाध्यै प्रगाढ थियो । म ठूलो बाजेको नाति र उदय कान्छो बाजेको नाति भएर पनि अधिकारी र उदयको सम्बन्ध दाजुभाइसरह नै थियो । आफू र उदय थापा परिवारकै भए पनि अधिकारीसँगको सम्बन्धमा उनले यथार्थ बताए ।
र चर्चा :
विकेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको जेठ १८ गते मंगलबार निधन भएको छ । युवा अवस्थामै सुगरको बिरामी थापाको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा अत्याधुनिक उपकरण (एक्मो) उपयोग गर्दै उपचारका क्रममा ४४ वर्षको उमेरमा निधन भएको हो ।
थापालाई संक्रमणसँगसँगै निमोनियाँ देखिएपछि ग्रान्डी अस्पतालमा उपचार गर्दागर्दै (एक्मो) विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टि भए पनि थापाको मृत्यु हुनुभन्दा अघिल्लो दिनको रिपोर्ट भने कोरोना नेगेटिभ आएको थियो । थापासँगै काठमाडौंमा परिवारका अन्य सदस्यको स्वास्थ्य परीक्षण गर्दा श्रीमतीसहित परिवारका अधिकांश सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
थापालाई संक्रमण भएको पुष्टि भएसँगै सामाजिक सञ्जालहरूमा उनको स्वास्थ्य लाभको कामनासहितको सन्देशबाट ठूलो सख्ंख्याले शुभेच्छा प्रकट गरिएको थियो । थापाको उपचारका लागि आर्थिक सहयोगको याचना गरेपछि त अस्वाभाविक रूपमा रकम संकलनसमेत भएको थियो ।
थापाको स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमा दर्जनौं पटक शुभेच्छा प्रकट गरेका तर स्वर्गारोहणसँगै नेपाल तरुण दल स्याङ्जाका उपाध्यक्ष तथा साहित्य क्षेत्रमा क्रियाशील रविन के.सी. लेख्छन् :
उज्ज्वल दाइसँग २०७२ सालमा पहिलो पटक स्याङ्जामै भेट हुँदा उहाँ स्याङ्जाली भएको त्यतिबेला मात्र थाहा पाएको थिएँ । निर्माणको क्रममा रहेको नेपालको संविधान र राज्य पुनर्संरचनाका बारेमा उहाँले राखेको पृथक् विचारबाट म प्रभावितसमेत थिएँ । नेपालमा वैकल्पिक राजनीतिक शक्ति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका स्याङ्जाली होनहार युवा उज्ज्वल दाइको निधनको खबरले अत्यन्तै दुःख लागेको छ । हार्दिक श्रद्धाञ्जली !
– थापाको स्वर्गारोहण भएको अपुष्ट खबर बाहिरने क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाका कोषाध्यक्ष तथा रेडियो स्याङ्जाका स्टेसन म्यानेजर रमेश गोदार गोदार समाजको सामाजिक लिंक सार्वजनिक गर्दै लेख्छन् :
गोदार वंशका एक नक्षत्र तपाईं उठ्नुपर्छ, देशलाई तपाईंको खाँचो छ, तपाईंप्रति सबैको सद्भाव र प्रार्थना छ । यो हेर्न र सुनेर आफ्नो योगदान र आवश्यकता थाहा पाउन पाउनुपर्छ, अनि भूमिका निर्वाह गर्नुपर्छ । शीघ्र स्वास्थ्य लाभको कामना दाजु । विश्वास छ, सबैको प्रार्थना सुन्नेछन् । हामी तपाईंको पर्खाइमा प्रार्थना गरिरहेछौं ।
यी त समेदवना र श्रद्धाञ्जली अर्पण गर्ने प्रतिमूलक सन्देशको साभार मात्रै हो । व्यक्तिगत सम्बन्ध, दलगत सम्मान अलग छन् । सामाजिक सञ्जालमा के पनि देखियो भने थापालाई चिन्दै नचिनेका र जान्दै नजानेका चिन्न र जान्नसमेत चासो नराख्ने क्षेत्रका व्यक्तिहरूबाट समेत समवेदना व्यक्त भए । यसबाट के कुरा स्पष्ट छ भने आजको राजनीति, राजनीतिज्ञ, राजनेताप्रतिको वितृष्णा तीव्र रूपमा फैलिँदा, मौलाउँदासमेत थापाप्रति भावना देखाउनेहरू यथेष्ट छन् । भावनाहरू भावनामात्रै रहुन्, भावनात्मक हुनु जरुरी छैन् । अलबिदा उज्ज्वल थापा दाइ !
(लेखक नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य र नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्वसभापति हुन् ।)