कोभिडले घटायो वैदेशिक रोजगारी «

कोभिडले घटायो वैदेशिक रोजगारी

कोभिड–१९ अर्थात् विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले वैदेशिक रोजगारी खुम्चिनाले बेरोजगारी भयावह बन्ने प्रबल सम्भावना रहेको छ । कोरोनापछि भारतसहित वैदेशिक रोजगारीबाट १० लाख श्रमिक फर्किएका छन् । नेपालबाट ७ लाखभन्दा बढी भारतीय कामदार कोरोनापछि काममा फर्किएका छैनन् । कोरोनापछि भारतीय कामदार नफर्किएपछि तत्काल उनीहरूको ठाउँमा नेपालीलाई अवसर दिनुपर्ने भए पनि त्यसो हुन सकेको छैन ।
वैदेशिक रोजगार विभागका अनुसार कोरोनापछि (चैत २०७६ देखि चैत २०७७ सम्म) १ लाख ३ हजार ३५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४ हजार गुणाले कम हो । त्यसअघि गत वर्षको सोही अवधिमा (चैत २०७५ देखि चैत २०७६ सम्म) वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३ लाख ६८ हजार थियो । कोरोनाले गर्दा पछिल्लो समयमा कम्पनीले विदेशी श्रमिक ल्याउन रोक लगाएको छ । श्रमिक चाहिए पनि कोरोनाको असहज परिस्थितिका कारण श्रमिक माग गर्न नसकिएको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपालसहित गन्तव्य मुलुकमा पनि थप चिन्ता बढेको छ । विभागका अनुसार कोरोनायता दैनिक ५ सय कामदार मात्र वैदेशिक रोजगारीमा गइरहेका छन् । कोरोनाअघि दैनिक १ हजार ५ सयभन्दा कामदार दैनिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । कोरोनाले कतार, साउदी अरब, दुबई, ओमन, मलेसिया तथा युरोपेली मुलुक प्रभावित हुँदै आएका छन् । जापान, इजरायल र दक्षिण कोरियाले श्रमिक लगेका छैनन् । गन्तव्य मुलुकमा कोरोनाको जोखिम कायमै रहेको अवस्थामा दोस्रो लहरको आतंक बढेपछि वैदेशिक रोजगार भयावह बन्न पुगेको हो । कोभिड–१९ (कोरोना) को जोखिम बढेसँगै गन्तव्य मुलुकबाट रोजगारी गुमाएर फर्कने क्रम बढेको छ । रोजगारी गुमाएर फर्किएका श्रमिकहरू स्वदेशमा रोजगारी नपाएर बेरोजगार रहेका छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सके श्रमिकहरू पुनः विदेश जानुपर्ने थिएन । सरकारले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सके बेरोजगारीको अन्त्य भई राष्ट्रको मुहार फेरिन सक्छ । त्यसैले यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।
कोरोना नियन्त्रण व्यवस्थापन समितिका अनुसार कोरोनाका कारण असहज परिस्थितिमा विदेशमा अलपत्र परेका ४ लाख ३६ हजार ४ सय ६६ जना स्वदेश फर्किएका छन् । गन्तव्य मुलुकबाट नेपाली रोजगारी गुमाएर फर्किने अधिक वैदेशिक रोजगारीमा जाने न्यून तथा स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा बेरोजगारको स्थिति विकराल बन्न पुगेको हो । विभागका अनुसार अन्य देशको तुलनामा साउदी अरबमा सबैभन्दा बढी कामदार पुगेका छन् । गत वर्ष कोरोना महामारी भयावह बन्न नदिनका लागि सरकारले चैत्रमा देशव्यापी लकडाउन घोषणा गरेको थियो । लकडाउन अघि नै वैदेशिक रोजगारी ठप्प भइसकेकाले चैतमा कोही पनि वैदेशिक रोजगारीमा गएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्