कांग्रेसमा विधानको अन्योल कायमै «

कांग्रेसमा विधानको अन्योल कायमै

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधानको विषय थप पेचिलो बनेको छ । पार्टी प्यालेसबाट सरेर बिहीबारदेखि पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा पनि विधान मस्यौदा पेश हुन सकेन ।
महासमितिको बैठक लम्बिँदा उत्साह बोकेर बैठकमा आएका महासमिति सदस्यहरू निराश देखिन थालेका छन् । उनीहरूले जतिसक्दो छिटो विधान मस्यौदा महासमितिमा पेश गर्नुपर्नेमा जोड दिएका छन् ।
महासमिति सदस्य आनन्दराज त्रिपाठीले विधान मस्यौदा छलफलका लागि छिटो बैठकमा ल्याउनुपर्ने बताए । “बैठक लम्ब्याएर मात्रै भएन । अब विधान मस्यौदा छिटो ल्याइयोस्,” उनले भने, “बैठकमा सहभागीहरूलाई सार्थक छलफलमा सहभागी हुने वातावरण बिग्रँदै गएको छ । यसप्रति नेतृत्व गम्भिर बन्नुपर्छ ।” पटक–पटक छलफल गरे पनि केन्द्रीय समितिले निर्णय गर्न नसक्दा विधान मस्यौदाको अन्योल बिहीबार अबेर रातिसम्म पनि कायमै छ ।
मंगलबार बेलुकी शीर्ष नेताहरूबीच ९ पदाधिकारीसहित १ सय ६१ सदस्यीय कार्यसमिति बनाउने गरी सहमति जुटेको थियो । तर, सो सहमति केही घण्टा पनि टिक्न सकेन । केन्द्रीय समिति बैठकमा पदाधिकारीको संख्यामात्र बढाइएको तर समावेशीताको सुनिश्चितता नभएको भन्दै केन्द्रीय सदस्य विरबहादुर बलायरसहितले चर्को विरोध गरेपछि सो सहमति तुहिँँदा बिहीबारको बैठकमा विधान पेश हुन सकेन ।
नेता बलायरले शीर्ष नेताअनुकूल विधान ल्याउन लागेकाले समस्या भएको बताए । “कांग्रेसका समग्र नेता–कार्यकर्ता भन्दा पनि केही नेताअनुकूल विधान बनाउने काम भएको पाइयो । संविधानको भावना र मर्मलाई ख्याल गरेको पाइएन । संघीयताको मर्मअनुसार विधानलाई समावेशी र समानुपातिक नबनाएसम्म त्यो विधान स्वीकार्य हुँदैन,” उनले भने ।
सभापति एकजना, उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना तथा कोषाध्यक्ष १ जना गरी ८ जना केन्द्रीय पदाधिकारी राख्ने सहमति भएको थियो । कोषाध्यक्षबाहेक अरु सबै निर्वाचित हुनेगरी शीर्ष नेताहरूबीच भएको यो सहमति बुधबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले अस्वीकार गरेपछि महासमिति बैठक थप अन्योल बन्न पुगेको छ । विधानमा सहमति जुटाउन बिहीबार सानेपामै केन्द्रीय समिति बैठक बसेको थियो । बैठकमा १४ जना केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । “विधानबारे छलफल जारी नै छ । अहिलेसम्म हात्ती छि¥यो, पुच्छर अड्क्यो’जस्तो भइरहेको छ,” प्रवक्ता शर्माले भने । शुक्रबार बिहान ९ बजेबाट महासमितिको बन्दसत्र शुरु हुनेछ ।

चौधौं महाधिवेशन ०७६ फागुन ७ मा गरौं ः पौडेल
वरिष्ठ नेता रामचन्द्र पौडेलले ०७६ साल फागुन ७ गते कांग्रेसको चौधौं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । महासमिति बैठकमा पेश गर्ने विधानका विषयमा विवाद हल गर्न बसेको बेठकमा उनले कार्यतालिकासहितको प्रस्ताव गरेका हुन् । बुधबारको केन्द्रीय समिति बैठकमा पौडेलले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पार्टीको महासमिति बैठकपछिको कार्यतालिका पेश गरेका हुन् । उनले महाधिवेशनको मिति तोकेर अगाडि बढ्न प्रस्ताव गरेका छन् ।
“महासमितिको बैठकपश्चात् विलम्ब नगरी पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्दछ । यस अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई सँगसँगै लैजानुपर्छ,” पौडेलको प्रस्ताव छ । उनले महासमितिको बैठकले सर्वसम्मतिका साथ समयबद्ध कार्यतालिका अनुसार महाधिवेशनका लागि अघि बढ्ने प्रण गर्नुपर्ने भन्दै कार्यतालिका ल्याएका छन् ।
मंसिर मसान्तसम्ममा टोल, मतदान केन्द्र, वडा र गाउँपालिका, नगर र उपमहानगर तथा महानगरपालिका अधिवेशन, पुस मसान्तसम्ममा प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन, माघ १६ सम्ममा प्रदेश अधिवेशन र फागुन ७ मा केन्द्रीय महाधिवेशन गर्ने उनको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्