गजुरी पालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउँदै
आफ्ना नागरिकलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्न गजुरी गाँउपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउने भएको छ ।
१६ महिनामा निर्माण सम्पन्न गर्ने गरी चालू आर्थिक वर्षबाटै निर्माण सुरु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको इन्जिनियर सुजन अधिकारीले बताए । एक हजार ७३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने भवनले चार सय ६० वर्गमिटर ओगट्ने छ । जग्गाको क्षेत्रफल कम रहेकाले ४६० वर्गमिटर अन्डरग्राउनड पार्किङसहित पाँचतले भवनमा लिफ्ट, भर्याङ र आपतकालीन भर्याङ रहने छ ।
गाउँपालिकाको कामलाई प्रभावकारी बनाउन विषयगत शाखाहरू यसै भवनमा रहने गरी २१ शाखा रहने गरी डिजाइन गरिएको छ । ३० जना क्षमताको बैठक कक्ष र एक सय ७० जना क्षमताको सभा हल रहने गरी डिजाइन गरिएको र उक्त भवन बनाउन आठ करोड ८९ लाख ८१ हजार ८२ रुपैयाँ लागत लाग्ने इन्जिनियर अधिकारीले बताए ।
हामी निर्वाचित भएर आउँदा ३ जना कर्मचारी र भाडामा रहेको घरमा आठ कोठा थियो । अहिले आफ्नै भवनमा १८ कोठा हुँदा पनि साँघुरो भएको छ । एउटै कोठामा छ जनासम्म बसेर काम गर्दा कामकाजमा असहज भएको छ । कर्मचारी र जनप्रतिनिधिले सहजरूपमा काम गर्न बसाइँ खुला र आरमदायी हुनुपर्छ त्यस कारण सुविधा सम्पन्न प्रशासनिक भवन बनाउन लागेको गाउँपालिका अध्यक्ष राजेन्द्रवीक्रम बस्नेतले बताए ।
वडा कार्यालयहरू भने आफ्नै भवन बनाएर सरिसकेका छन् । आफ्नै भवनमा सरेका वडा कार्यालयहरू २, ३, ४, ६ र ७ छन् ।