महाकाली चारलेनको पुल निर्माण अन्तिम चरणमा
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमाथि निर्माण भइरहेको चारलेन महाकाली पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
छिमेकी मुलुक भारतबाट नयाँ भेरियन्टसहितको कोरोना महामारीको तेस्रो लहरले नेपालमा प्रवेश पाएको भए पनि पुलको निर्माणकार्य धमाधम भएको छ । जिल्लामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको भए पनि पुल निर्माण कम्पनीले भने स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर निर्माणकार्य द्रुत गतिमा अन्तिम चरणमा पु¥याएको हो । कम्पनीले पुल योजनाको संयुक्त भौतिक प्रगति ७० देखि ७५ प्रतिशत भएको जनाएको छ ।
“हाम्रो वरपर कोरोना महामारीको प्रभाव कायमै रहेको अवस्था छ, हामीले निर्माणकार्यलाई समयमै सम्पन्न गर्ने उद्देश्य अनुरुप निर्माणकार्य प्रभावित हुन दिएका छैनौं ।” कुमार सीएसईसी जेभी कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयले भने, “पुल निर्माणकार्य समयमै सम्पन्न गराउनका लागि कम्पनीले निर्माणकार्य गरिरहेको छ, केही ठाउँमा कामदार अभाव भए पनि पुल निर्माणको स्ल्याब हाल्ने तथा ढलान गर्ने कार्य चलिरहेको अवस्था छ ।” यसअघि पनि कोरोना महामारीमा पुल निर्माणकार्य प्रभावित भएको भए पनि पुल निर्माणमा निरन्तरता दिइएको थियो । पुलमा निर्माण गर्नुपर्ने पुलको ३२ वटा स्ल्याबमध्ये ३ वटा स्ल्याबमात्रै निर्माण गर्न बाँकी रहेको अवस्था छ । यस्तै पुलको पहुँचमार्गको आठ किलोमिटरमध्ये तीन किलोमिटर कालोपत्रे भइसकेको उनले बताए ।
२०७८ साल फागुनसम्म योजनाको सम्पूर्ण कामसक्ने योजना निर्माण कम्पनीको रहेको छ । यसअघि २०७४ सालमा नै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चार लेन महाकाली पुलको शिलान्यास गरेपछि निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले कोरोना महामारीको दोस्रो लहरका बीच लक्ष्यअनुसारको प्रगति गर्न नसकेको भए पनि निर्माणकार्यलाई तदारुकता दिएको जनाएको छ । कोरोना भाइरसका कारण लक्ष्यअनुसार भौतिक प्रगति समात्न नसकेको कम्पनीले पुलको कामबाहेक अन्य काम आइल्यान्ड बनाउने काम सम्पन्न गरिसकेको अवस्था छ । यस्तै पुलसँगै अन्य बाहिरको कामलाई पनि प्राथमिकता दिँदै जाने कम्पनीको भनाइ छ । “पुल निर्माण लगभग अन्तिम चरणमा रहेको अवस्था छ, पुलबाटै वारिपारि हिँडडुल पनि सुरु भएको अवस्था छ, बाँकी पुलको काम केही महिनाभित्रै सक्ने लक्ष्य छ । यसबाहेक बाहिरको अन्य काम गर्नलाई कोरोना महामारीले गर्दा केही जनशक्ति अभाव भएको छ, तर पनि हामी निर्माणकार्यलाई निरन्ता दिइएको छ,” इन्जिनियर पाण्डेयले भने ।
महाकाली चारलेन पुल निर्माणको सम्झौता ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा भएको थियो । सीमानाका गड्डा चौकीसम्म जोड्ने ६ किलोमिटर र दोेधरा चाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको पहुँचमार्गको निर्माणकार्य पनि अन्तिच चरणमा रहेको छ । निर्माण कम्पनीका अनुसार पुलको लम्बाइ ८ सय मिटर र चौडाइ भने २३.८ मिटर रहेको छ । यस्तै उता गड्डाचौकी र भुजेला खोलामा पर्ने दुईवटा साना पुलको निर्माणकार्य सकिएको इन्जिनियर किशोरराज पाण्डेयले बताए । पुल निर्माणकार्य वि.सं २०७४ भदौमा सुरु भएर वि.सं २०७७ भदौमा सम्पन्न हुने भनिए पनि केही प्राविधिक कारण एक वर्ष बीचमा थप गरिएको थियो । थप गरिएपछि २०७७ भदौबाट एक वर्ष थप गरेर २०७८ जेठ १९ गतेसम्म समय तोकिएको निर्माण कम्पनीले जनाएको छ ।