Logo

बस्नेतले सम्हाले प्रेस काउन्सिलको अध्यक्षको जिम्मेवारी

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिलको उद्देश्य यसको मर्यादालाई कायम राख्न आफ्नो भूमिका हुने बताए ।

आइतबार प्रेस काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हाल्दै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष बस्नेतले विगतमा प्रेस काउन्सिलको भूमिका अनुसारको काम नहुँदा प्रश्न चिन्ह उठ्ने गरेको भन्दै सञ्चारमाध्यमलाई अनुगमन गर्ने कामलाई प्रभावकारी बनाउन सके यसको उद्देश्य प्राप्ति हुने बताए । सञ्चारमाध्यमको प्रभावकारी अनुगमनमा काउन्सिलको पहल हुने उनको भनाइ छ । उनले भने, ‘जे उद्देश्य छ हुबहु पालना गर्न सके मर्यादा आफैं बढ्छ । प्रेस काउन्सिलले गर्ने भूमिका एकातिर सो अनुसारको काम गर्न नसक्दा बेला–बेला प्रश्नचिन्ह उठ्ने गरेका थिए ।

सञ्चारकर्मी-सञ्चारमाध्यमले गरेका राम्रो काम के–के हुन्, गर्न नसकेका र क्षेत्राधिकार बाहिर भएका काम के–के हुन् भनेर प्रेस काउन्सिलले मनिटरिङ गर्नुपर्ने हुन्छ । मनिटरिङ गरेर त्यसलाई नदोहो¥याउनका लागि सचेत गराउनुपर्ने हुन्छ । यो कामलाई नै प्रभावकारी रुपमा गर्नसक्यो भने ठुलो भुमिका खेलेको हुन्छ । हाम्रो अबको पहल यसतर्फ हुन्छ ।’

प्रेस काउन्सिलले आचारसंहिता र प्रेसको मर्मको विषय बुझाउने खालको प्रशिक्षणात्मक कार्यक्रमहरू सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो । वर्गिकरणमा अन्यायमा परेका सञ्चारमाध्यम छन् भने तिनको रिभ्यु गर्ने पनि उहाँले जानकारी स्पष्ट पारे । सही र गलत सूचना प्रवाह गर्ने अनलाइनलाई पहिचान गरी वर्गीकरण गरी राम्रा अनलाइनलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने आफ्नो धारणा रहेको पनि उहाँले बताए ।

प्रतिक्रिया दिनुहोस्