कास्कीका गाउँपालिकामा पुग्यो अक्सिजन कन्सन्टेटर «

कास्कीका गाउँपालिकामा पुग्यो अक्सिजन कन्सन्टेटर


कास्कीका चारवटै गाउँपालिकामा अक्सिजन कन्सन्टेटर पुगेको छ । काठमाडौंको बोधी सत्वा विहार र सामाजिक अभियान्ता शान्त शर्माको विशेष सहयोगमा कास्कीका चार गाउँपालिकामाछापुच्छ्रे रूपा, अन्नपूर्ण र मादी गाउँपालिकामा ५/५ लिटर क्षमताको अक्सिजन कन्सन्टेटर मेसिन पुगेको पोखरा संयोजक एवं पत्रकार दीननाथ बरालले बताए ।
कास्कीका चारवटा गाउँपालिकालाई जनही अक्सिजन कन्सन्टेटरसहित स्वास्थ्य सामग्री (अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिनलगायत) एक काटुन, सेनिटाइजर २० लिटर, ह्याण्डवास, ट्वाइलेट क्लिनर र फिनेल ५/५ लिटर, स्प्रे मेसिनलगायतका स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरिएको थियो । नेपाल पत्रकार महासंघ कास्कीको परिसरमा संयोजक बराल, पोखराका युवा व्यवसायी श्याम शेरचन, पत्रकार नारायण कुँइकेलले मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
कास्कीमा पनि अक्सिजन अभाव भएको अवस्थामा आफूहरूले अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामग्री प्राप्त गर्दा ठूलो राहत प्राप्त भएको महसुस भएको मादी गाउँपालिकाका अध्यक्ष गुरुङले जनाए ।
कोरोनाको यो महामारीमा आफूहरूले प्राप्त गरेको स्वास्थ्य सामग्री लक्षित वर्गलाई उचित ढंगले प्रयोग गर्न दिने रुपा गाउँपालिकाका प्रमुख ओझाले बताए । अधिकांश बजार केन्द्रित सहयोग आएको अबस्थामा आफ्नो गाउँलाई समेत सम्झेर सहयोग गरेकोमा सहयोगी संस्थालाई उनले धन्यवादसमेत प्रदान गरे । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले प्राप्त स्वास्थ्य सामग्री आफूहरूका लागि ठूलो राहत भएको बताए । यसैबीच, शुक्रबार सिर्जनशील अपाङ्गता सरोकार समिति (पीआरटी)लाई औषधि सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कप सुरक, भिटामिन बी कम्प्लेक्स, सिटामोल, साइनेक्स लगायतका एक काटुन औषधि वितरण गरिएको संयोजक बरालले जनाए । समितिका अध्यक्ष फडिन्द्रप्रसाद पौडेलले हाल आफूहरूलाई औषधिको साथमा खाद्य सामग्री अत्यावसेक भएको गुनासो गरे । हाल आफूहरूलाई करिब ७० जनाको लागि खाद्य राहत सामग्री आवश्यक परेको बताए । आवश्यक खाद्य सामग्री उपलब्ध गराउन हाल पहल गरेको बरालले जनाए ।
यसअघि बिहीबार पोखरामा तीनवटा सामुदायिक अस्पताललाई जनही ५÷५ वटा अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामग्री वितरण गरिएको थियो । पोखरा महानगरपालिका–२२ को स्वास्थ्य चौकीदेखि गण्डकी प्रदेशको शंक्रामक तथा सरुवा रोग अस्पतालसहित केही संघ–संस्थालाई करिब ३० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्