बाल सुधारगृहमा कोरोनाको संक्रमण फैलियो «

बाल सुधारगृहमा कोरोनाको संक्रमण फैलियो

उमेर नपुगेका कैदीबन्दी राखिएको विराटनगरस्थित बाल सुधारगृहमा कोरोना संक्रमण फैलिएको छ ।
बाल सुधारगृहका २५ जना बालकमा कोरोना संक्रमण देखिएको हो । ५० जनाको पिसिआर परीक्षण गर्दा उनीहरुमा कोरोना देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ । सुधारगृहमा क्षमताभन्दा धेरैलाई राखिएको छ । ५० जना क्षमता भएको सुधारगृहमा १ सय ९३ जना बालक छन् । गत जेठ २ गते पहिलोपटक एक बालकमा कोरोना संक्रमण पुष्टि भएपछि लक्षण देखिएका थप दुईजनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
जेठ १३ गते कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पीसीआर गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको पाइएको छ । २२ जनाको रिपोर्ट पोजेटिभ आएयता अन्य बालकको पिसिआर परीक्षण भएको छैन । सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार संक्रमण पुष्टि भएका बालकहरूलाई छुट्टै स्थानमा राखिएको छ । जेठ १३ गते स्वाब संकलन गरिएका बालकको रिपोर्ट ढिलो आएकोले अन्य बालकको परीक्षणमा ढिलाई भएको उनको दाबी छ ।
संक्रमण पुष्टि भएका बालकहरूमा कुनै लक्षण भने नदेखिएको उनले बताए । पोजेटिभ देखिएका बालकलाई महानगरपालिकाको आइसोलेसनमा राखिएको छ । सुधारगृहको एउटै कोठामा २५ जनासम्म बालकहरूलाई राखिएकोले उनीहरूमा कोरोना फैलिएको हो । सुधारगृहमा १४ वटै जिल्लाका बालविज्याइकर्तालाई अदालतको आदेशपछि राखिन्छ । सुधारगृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरू छन् ।

प्रतिक्रिया दिनुहोस्