बजेट कार्यान्वयनको प्रक्रिया अघि बढाउन शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका हुन् ।
बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने उनले बताए । उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए । उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराए ।
छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुनर्निर्माण हुने बताउँदै उनले त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराए ।
बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगावै पुस्तक ढुवानी गर्न आग्रह गरे । लगत्तै मन्त्री श्रेष्ठले सो विषयमा सिसिएमसीमा पत्रचार गर्ने बताए । शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले असार १ गतेबाट भर्ना प्रकृया अघि बढाउने बताए ।