कोरोनाको संकटमा पनि पर्वतारोहणको आकर्षण «

कोरोनाको संकटमा पनि पर्वतारोहणको आकर्षण

हुन पनि यो वर्षको वसन्त ऋतुमा नेपाल सरकारले नेपालका विभिन्न हिमशिखर आरोहण गर्न आएका विदेशी पर्वतारोहीबाट उनीहरूलाई परमिट दिएबापत लगभग ७२ करोड नेपाली रुपैयाँ आम्दानी गरेको छ । त्यसमा पनि यो वर्षको वसन्त याममा सगरमाथा एक्लैले लगभग ६६ करोड आम्दानी गरेको छ ।
जबकि अहिले नेपाल मात्रै नभएर विश्वका अधिकांश देशहरू कोरोना कहरको दोस्रो, तेस्रो लहरले सन्त्रस्त भएको यस्तो बेला पनि नेपालमा रहेका विश्वकै अग्लो हिमाल सगरमाथालगायत अन्य हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूप्रति नै अन्तरहृदयदेखि सलाम गर्नुपर्ने हुन्छ । खासमा यो समय भनेको विश्व जगत् नै कोरोना महामारीका कारण अन्योलमा रहेको अवस्था हो । तापनि यो सिजनमा सगरमाथालगायत नेपालका अन्य २० वटा हिमाल आरोहणका लागि विभिन्न देशका ८५ वटा दलका ७ सय ४२ जना पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहण गर्न नेपाल सरकारबाट अनुमति लिएका छन् । त्यसमा सगरमाथा आरोहणका लागि मात्रै विभिन्न देशका ४४ दलका ४ सय ८ जना पर्वतारोहीले परमिट लिएका छन् । तिनमा एक जना तेस्रोलिंगी, ९२ जना महिला र ३ सय १५ जना पुरुष रहेका छन् ।
त्यसो त यसरी विदेशी मुद्रा आर्जन गर्नमा सजिलैसँग ठूलो योगदान दिइरहेको पर्वतारोहण क्षेत्रमा हालसम्म नेपाल सरकारले पटक–पटक गरेर ४ सय १४ वटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि खुला गरेको छ ।
हिमाल किन चढिन्छ ? वा विदेशीहरू किन हिमालयमा आउँछन् ? भन्ने सम्बन्धमा स्वर्गीय डाक्टर हर्क गुरुङले एक लेखमा लेखेका छन्, ‘पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो ।’
‘पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किरात महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आपूmलाई एउटा क्षुद्र्र जीव पाउँछ र ?’ (सन्दर्भ स्रोत : स्वर्गीय डाक्टर हर्क गुरुङद्वारा लिखित ‘विषय विविध’ नामक किताबको पाना)
स्वर्गीय डाक्टर हर्क गुरुङका अनुसार सन् १९५९-६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीहरूलाई एक जनाबराबर ६ हजार रुपैयाँ लाग्थ्यो । अहिले त विभिन्न देशका पर्वतारोहीहरूले चोमोलुङ्मा अर्थात् सगरमाथा-एभरेस्ट चढ्नका लागि अनुमति लिनलाई नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर त रोयल्टीबापत मात्रै तिर्ने गर्छन् । अन्य खर्च त कति हो कति !
यसरी नेपालतर्पmबाट विभिन्न देशका पर्वतारोहीहरूले चोमोलुङ्मा अर्थात् सगरमाथा÷एभरेस्ट चढ्नका लागि अनुमति लिनलाई मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टीबापत तिर्ने गरे तापनि चीनतर्पmबाट भने त्यही चोमोलुङ्मा चढ्न ३ हजार अमेरिकी डलर मात्रै रोयल्टीबापत तिर्ने गर्छन् । त्यसैले पर्वतारोहीहरूले कुनै पनि हिमाल चढ्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर नेपालको दाँजोमा चीन, पाकिस्तानलगायत देशमा ज्यादै कम रहेको छ । त्यसैले नेपाल सरकारले पनि भविष्यमा पर्वतारोहीहरूलाई हालसम्म लिँदै आएको रोयल्टी दर घटाउनेतर्पm सोच्ने हो कि ? किनभने, गत वर्ष नेपाल सरकार र चीन सरकारले सगरमाथाको उचाइलाई समान रूपमा ८८४८.८६ मिटरलाई आधार मानेका छन् । त्यसअघि चीन सरकारले सगरमाथाको उचाइ ८८४४.४३ मिटर मात्रै मान्दै आएको थियो, जसले गर्दा नेपालतर्पmबाट सगरमाथा चढ्दा सलामी दस्तुर महँगो भए तापनि धेरैजसो सगरमाथा आरोहीहरू नेपालतर्पmबाट सगरमाथा चढ्न आउने गर्थे ।
हुन त पर्वतारोहण भनेको केवल मनोरञ्जन मात्रै नभएर एक साहसिक र मनलाई शान्ति मिल्ने खेल हुनुका साथै आर्थिक रूपमा ज्यादै खर्चिलो खेल पनि हो । त्यसैले त मानिसहरूमा पर्वतारोहण गर्नका लागि धैर्यता, साहस, एकाग्रता, निडरता, उच्च मनोबल, स्वस्थ्य शरीर चाहिन्छ । त्यसका साथै मौसम र भाग्यले पनि साथ दिनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्