एक वर्षमै परिसूचक दोब्बर «

एक वर्षमै परिसूचक दोब्बर


कोभिड–१९ को महामारी र यसको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण आर्थिक गतिविधि सुस्ताए पनि सेयर बजारमा भने उत्साह कायमै छ । अनलाइनमार्फत जुनसुकै स्थानबाट समेत कारोबार गर्न सकिने व्यवस्थाका कारण आम सर्वसाधारणदेखि उद्योगी, व्यवसायी सेयरमा लगानी गर्न केन्द्र्रीत हुँदा सेयर बजार नयाँ उचाइमा पुगेको हो ।
कोभिडका कारण आर्थिक गतिविधि सुस्ताउँदा अर्थतन्त्रको सूचक मानिने सेयर बजार भने निरन्तर उकालो लागिरहेको छ । चालु आर्थिक वर्षमा मात्र सेयर बजार सूचक दोब्बरभन्दा बढीले वृृद्धि भएको छ । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १३६२.४ अंकमा बन्द भएकोमा जेठ २३ गतेसम्ममा ११३ प्रतिशतले वृद्धि भएको छ ।
निषेधाज्ञाको समयमा अनलाइनमार्फत सहज कारोबारको पहुँचले गर्दा व्यापारीहरुले छोटो अवधिका लागि भएपनि आफूसँग भएको रकम पुँजी बजारमा परिचालन गरेका छन् । यसैगरी बैंकहरुले पनि सस्तो व्याजदरमा मार्जिन ल्यान्डिङ गर्दै आएको छन् । जसको प्रभाव बजारमा सकारात्मक देखिएको हो ।
गत वर्ष निषेधाज्ञाका कारण लामो समय बन्द रहेको बजार यस वर्ष भने निरन्तर सञ्चालन भइरहेको छ । बजारमा दिनहुँजसो नयाँ नयाँ रेकर्ड कायम भइरहेको छ ।
साताको पहिलो दिन आइतबार पनि नेप्से सूचक ७.८८ प्रतिशतले वृद्धि हुँदा हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ । यसदिन नेप्से ५०.१३ अंकले वृद्धि भई २९०६.८९ अंकमा पुगेको छ ।
आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । यसदिन २१८ कम्पनीका ३ करोड ७४ लाख कित्ता सेयर किनबेच हुँदा १७ अर्व २७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।
आइतबार सेयर बजारमा प्रभुत्व भएको बैंक तथा वित्तीय संस्थाका परिसूचक उकालो लाग्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बैंकिङ ७९.८५ अंकले वृद्धि हुँदा विकास बैंक ९६.३१ र फाइनान्स कम्पनी समूह २७.७२ अंकले बढेका छन् । यसैगरी लघुवित्त ४.२८, अन्य ६६.९४, लगानी ४.०३ र म्युचुअल फण्ड ०.२४ अंकले वृद्धि भएको छ ।
केही समययता उच्च वृद्धि देखिएका जलविद्युत, होटल तथा टुरिजम, निर्जीवन र जीवन बिमा भने आइतबार ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्