रुपन्देहीमा संक्रमण दर अझै बढी
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले रुपन्देहीमा संक्रमण दर अझै बढी भएको बताएका छन् । डा. गिरीले रुपन्देहीमा एक साताको ट्रेन्ड हेर्दा समुदाय स्तरमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमण दर ८ दशमलव ६ प्रतिशत रहेको र आरटी पीसीआरबाट गरिने परीक्षण(बढी लक्षणसहित)बाट संक्रमण दर २५ देखि ३० प्रतिशतसम्म देखिएको बताए ।
डा. गिरीका अनुसार पहिलेको तुलनामा कोरोना पोजिटिभका केसहरू घटेपनि अहिलेको संक्रमण दर पनि उच्च छ । पहिलाभन्दा धेरै घटेको छ तर जति धेरै र छिटो गतिमा घट्नुपर्ने हो, घटन सकेको छैन, डा. गिरीले भने ।
अहिले समुदाय स्तरमा एन्टिजेन परीक्षण सुरु भएको छ, तर, सहभागिता कम छ, लक्षण देखिएकाहरू, संक्रमित पुष्टि भएकाहरूसँग एकदम निकट भएकाहरूलाई र जो होम आइसोलेसनमा छन् उनीहरूका परिवारहरूलाई परीक्षणको दायरा बढाएका छांै, समुदाय स्तरमा गएका छांै, ज्वरो आएको, रुघाखोकी छ भने पनि एन्टिजेन परीक्षण गरी हाल्नु होस, सम्बन्धित स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क गर्नु होस्, डा. गिरीले भने । ‘पहिला समुदाय स्तरमा परीक्षण भएन भनियो तर अहिले निःशुल्क रूपमा परीक्षण व्यवस्था गर्दा आशंका भएकाहरू पनि आएका छैनन्, घर–घरमै लुकाएर राखिएको जस्तो छ, म सबैलाई परीक्षण गर्नु हुन अनुरोध गर्छु,’ डा. गिरीले भने ।
रुपन्देहीका सबै स्थानीय तहलाई १२ हजार बढी एन्टिजेन किट दिएर पठाएका छौं, २ सयदेखि १९ सयसम्म पठाएको हो र आवश्यक परे माग गर्न भनेका छांै, तर त्यो पनि सक्नु भएको छैन, डा. गिरीले भने । २५ जेठ सम्म परीक्षणको सबै रिपोर्ट ल्याउन भनेका छौं, त्यसपछि एकिन थाहा हुन्छ, जिल्लाको संक्रमणको अवस्था, उनले बताए ।
रुपन्देही जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै वैशाख ३१ गतेसम्म कोरोना संक्रमित सक्रियको संख्या ७ हजार ४ सय ८ पुगेको थियो भने। यो संख्या घट्दै जेठ २२ मा आउँदा १४ सय १७ पुगेको छ । १४ सय १७ बिरामीमध्ये १७६ जना बिभिन्न अस्पताल र स्थानीय तहका कोभिड अस्थायी अस्पताल, आइसोलेसन सेन्टरमा र १२ सय ४१ जना घरमै रहेर स्वास्थ्य लाभ गरिरहेका छन् । गत २४ घन्टामा २ सय ४८ जनाको आरटी पीसीआर गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा सबैभन्दा बढी सक्रमण बुटवल उपमहानगरमा त्यसपछि तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देबदह नगरमा रहेको छ ।