शान्ति समाजद्वारा वृक्षारोपण
विश्व वातावरण दिवस ५ जुनका दिन मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण गरिएको छ । शानिबार शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, बेल, धुपिसल्लो, कल्पिफूललगायत १ सयभन्दा बढी संख्यामा वृक्षारोपण गरिएको छ ।
कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स)मा जोड दिँदै हिमालय बचाउ आन्दोलन सञ्चालन गरिरहेको उल्लेख गर्दै हालै सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिटी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन गर्ने बताए । वातावरण विनास गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभूमीकरण हुने खतरा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सभापति खनालले सरकारको यो आत्मघाती कदमलाई वातावरण प्रतिगमनको संज्ञा दिए । यसैगरी शनिबार नै काठमाडौंको गोठाटार खुर्सानीबारीस्थित असहाय गाईबाच्छा संरक्षण स्थलको डाँडामा शान्ति समाजद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित जनप्रतिनिधिहरु र अधिकारकर्मीद्वारा काइयो, ज्याकारान्डा, कपुर, पारिजात र पिपललगायतका ५० वटा विरुवा रोपिएको छ