तीन सातापछि खुल्दै बागलुङका बैंक वित्तीय संस्थाहरू
जिल्लामा जारी निषेधाज्ञाका कारण तीन सातादेखि पूर्णरूपमा बन्द बैंक तथा वित्तीय संस्थाहरू यो साता दुई दिन संचालनमा आउने भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले यो साता अत्यावश्यक सेवाका लागि दुई दिन बिहानी सेवा सञ्चालन गर्न दिने भएको हो ।
यसअघि डीसीसीएमसी शनिबारसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमणको दरमा कमी नआएपछि जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । ‘निषेधाज्ञा थप गरे तापनी बैंक वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ ।’ प्रमुख जिल्ला अधिकारी कार्कीले भने, ‘यो साताका दुई दिन अत्यावश्यक सेवा सचालनका लागि बैंक तथा वित्तीय संस्थाहरूले अनुमति प्राप्त गरेका छन् ।’ जिल्ला कोभिड संकट व्यवस्थापन समितिले बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि बार र समय तोकिएको छ । संस्था सञ्चालनका लागि साताको बुधबार र आइतबार बिहान ७ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ ।
बागलुङमा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा जारी भएसँगै वैशाख महिना बैंक वित्तीय संस्थाहरू आलोपालो गरेर सञ्चालन गरिएको थियो । बागलुङमा २८ बैंकका शाखाहरू सञ्चालनमा छन् । ‘बागलुङमा जारी निषेधाज्ञाका सुरुका १० दिन आलोपाली गरी सेवा प्रवाह गरेका थियौं’ ग्लोबल आईएमी बैंक बागलुङ शाखा प्रमुख हेमराज शर्माले भने, ‘आव यो साता जिल्ला कोभिड संकट व्यवस्थापन समितिले तोकिदिएको आइतबार र बुधबारको विहानमा सेवा सञ्चालन गर्ने छौं ।’ जेठ १ गतेदेखि बैंक वित्तीय संस्थाहरूले प्रदान गर्ने एटिएम सेवासमेत सीमित गरिएको छ । एटीएम सेवा बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गरिँदै आएको छ ।
जिल्लामा कोरना संक्रमितको संख्या अझै पनि १ हजार हाराहारीमा छ । ग्रामीण र सहरी दुवै क्षेत्रमा फैलिने क्रम तीव्र छ । ‘यसको ‘चेन ब्रेक’ गर्नका लागि जिल्लामा लकडाउन जारी गरिएको हो,’ प्रजिअ कार्कीले भने ‘अझै पनि संक्रमितको संख्या बढिरहेको हुँदा लकडाउनलाई निरन्तरता र कडाइ गरिने निर्णय भएको छ ।’
यसैबीच बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर क्षेत्रमा संक्रमितको संख्या बढी भेटिएपछि सिल सिल गरिएको छ । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, उपल्लाचौर, आँखा उपचार केन्द्र आसपास, रेडक्र, तथा वडा कार्यालय क्षेत्रमा अत्याधिक कोरोनाका संक्रमित बढेका छन् । ती संक्रमितको कारण बजारका अन्य क्षेत्रमा पनि जोखिम बढेपछि तोकिएका क्षेत्र सिल गरिएको हो । ती क्षेत्रमा कोही पनि प्रवेश गर्न नपाउने व्यवस्था मिलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, नगरप्रमुख जनकराज पौडेल, वडा अध्यक्ष धु्वबहादुर केसी, स्थानीय सामाजिक अगुवा समेतको छलफलपछि ती क्षेत्रमा सिल गर्ने निर्णय गरेको हो । श्रीनगरटोलदेखि डुंडुंगा जाने सडकको बस्तीमा मात्रै २५ घरमा ४० बढी संक्रमित छन् । सिल गरिएको क्षेत्रमा मात्रै १ सयबढी संक्रमित भएको खनालले बताए । संक्रमण र फैलावटको दर बढिरहेकाले टोल सिल गर्नैपर्ने भएको उनले बताए ।
त्रिलोचन रिजाल