Logo

इटा उद्योगबाट आम्दानीसँंगै रोजगारी


जुम्ला सदरमुकाम खलंगामा रहेको इन्टरलक इटा उद्योग कोरोना कहरका बीच पनि स्वास्थ्य सावधानी अपनाएर नियमित सञ्चालन भइरहेको छ । स्थानीय स्रोत साधनबाटै जुम्लामै इटा उत्पादन हुने भएकाले कोरोना रोकथामका लागि सीमानाका बन्द भए पनि एम्स मल्टि म्यानुफ्याक्चरिङ कम्पन्नीद्वारा सञ्चालित इन्टरलक इटा र ग्रिल उद्योग नियमित सञ्चालन भइरहेको छ ।
पछिल्लो समय इन्टरलक इटाबाट घर निर्माण गर्नेको संख्यामा उल्लेखनीय वृद्धि भएसँगै माग पनि बढ्दै गएको छ । उद्योगका सञ्चालक मनोज बुढाथोकी मगर भन्छन, “स्थानीय स्रोतको सदुपयोग गर्ने, आयातित इटा विस्तापित गर्ने, पुँजी पलायन रोक्ने, रोजगारी सिर्जना र भूकम्प प्रतिरोधी संरचना निर्माणमा टेवा पु¥याउने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको हो । छोटो समयमै यसको माग बढेपछि आम्दानीसँंगै रोजगारी पनि बढेको छ ।”
स्थानीय स्रोत साधनबाटै इन्टरलक इटा उत्पादन हुने भएकाले गत वर्ष पनि उद्योग बन्द नभएको र दोस्रो लहरको कोरोनाले पनि कुनै असर नपरेको उद्योगपति बुढाथोकी मगरले बताए । भूकम्पका दृष्टिले अतिजोखिममा रहेको कर्णालीमा भूकम्प प्रतिरोधी संरचना बनाउन इन्टरलक इटा राम्रो मानिन्छ । घर बलियो पनि हुने, रंगीन इटाभन्दा सस्तो पनि पर्ने हुँदा नागरिकले विस्तारै बुझन थालेपछि माग बढ्दै गइरहेको छ । हालसम्म करिब ६० देखि ७० जति घर, कार्यालय भवन, होटल विद्यालयलगायतका संरचना इन्टरलक इटाबाट बनिसकेका छन् ।

मासिक १२ लाख आम्दानी
एम्समल्टि म्यानुफ्याक्चरिङ कम्पन्नीद्वारा सञ्चालित इन्टरलक इटा तथा ग्रिल उद्योगमा कोरोना कहरका बीच पनि मासिक करिब १२ देखि १३ लाख बराबर आम्दानी हुने गरेको छ । दैनिक ४२ हजार बराबरको कारोबार हुने गरेको उद्योग सञ्चालक मनोज बुढाथोकी मगरले बताए । उनले भने, “आयातित इट्टाभन्दा सस्तो र बलियो हुने भएपछि माग बढेको छ । कमाइ पनि राम्रै छ । कामदारले ठेक्कामा इट्टा उत्पादन गरिरहेका छन् ।”
रंगीन इटा आयातका लागि जुम्लाबाट वार्षिक करिब २० करोड पुँजी पलायन भइरहेको अनुमान छ । पुँजी पलायन रोक्नुका साथै जुम्लामै रोजगारी बढाएर आम्दानी बढाउने लक्ष्य राखिएको उनको भनाइ छ । मासिक १२ लाखका दरले वर्षमा करिब १२ करोड ४ लाख बराबरको कारोबार हुन्छ भने, करिब ६० प्रतिशत नाफा हुन्छ ।

२६ जनालाई रोजगारी
दोस्रो लहरको कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण हजारैं युवाले रोजगारी गुमाएका छन् । तर एम्समल्टि म्यानुफ्याक्चरिङ कम्पन्नीद्वारा सञ्चालित जुम्लाको इन्टरलक इटा उद्योगले २६ जना विपन्न नागरिकलाई कोरोना कहरका बीच पनि नियमित रोजगारी दिइरहेको छ । इटा उद्योगमा १८ जना, ग्रिल उद्योगमा ४ जना र प्रशासनतर्फ ४ जना गरी २६ जनालाई सिप दक्षता अनुसारको रोजगारी दिइएको उद्योगका सञ्चालक मनोज बुढाथोकी मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्