कामचलाउ सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्नु असंवैधानिक : महत «

कामचलाउ सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्नु असंवैधानिक : महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता प्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको उपयोग गरेको टिप्पणी गरेका छन् ।
शनिबार प्रतिक्रिया दिँदै सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको बताए । पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुनर्गठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको नेता महतले बताए ।
मधेशका खास मुद्दालाई थाति राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको आरोप पनि लगाए । कोरोना संक्रमणको जोखिममा आफूविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधि सभा पनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको उनले बताए । प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफूहरुको विश्वास रहेको पनि नेता महतले बताए ।

प्रतिक्रिया दिनुहोस्