Logo

क्लिनफिड कार्यान्वयन नगरिएकोमा विज्ञापन संघको असन्तुष्टि

नेपाल विज्ञापन संघ (आन) ले क्लिन फिड नीति कार्यान्वयन नगरिएकोमा आपत्ति जनाएको छ । संघले नेपालमा प्रसारित हुने विदेशी च्यानललाई विज्ञापनरहित बनाउने क्लिन फिड नीति कार्यान्वयन नगरिएकामा असन्तुष्टि जनाएको हो । संघले १८ औं वार्षिक साधारणसभाका अवसरमा विहिबार काठमाडौंमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसामु नीति कार्यान्वयन गर्न आलटाल गरेकामा असन्तुष्टि जनाएको हो । संघका अध्यक्ष सन्तोष श्रेष्ठले क्लिन फिडको नीति कार्यान्वयन भए विज्ञापन बजार ६ अर्बबाट १२ अर्ब पुग्ने बताएका छन् । उनले कुनै पनि वहानामा नीति कार्यान्वयन गर्ने जिम्मेवारीबाट नउम्कन सरकारसँग आग्रह गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा गत साउन १ गतेदेखि ीक्लन फिड नीति कार्यान्वयन गर्ने निर्णय भएको थियो । क्लिन फिड नीति कार्यान्वयन गर्दा सरकार, विज्ञापन व्यवसायी र टेलिभिजन सबैलाई फाइदा पुग्ने भएपनि सरकारले आनाकानी गर्दै आएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कतिपय विज्ञापन एजेन्सी सञ्चालकहरूले नीति कार्यान्वयन नगर्न दबाब दिएकाले सरकार जिम्मेवारीबाट पछि हटेको बताए । नेपालमा हाल करिब १ हजार ५ सय विज्ञापन एजेन्सी दर्ता छन । अहिले केबल र डिसहोमको माध्यमबाट टेलिभिजन सेटमा दर्जनौं स्वदेशी र विदेशी च्यानल प्रशारण भइरहेका छन् । क्लिन फिड नीतिअन्तर्गत यसरी तपाईंको टेलिभिजनमा आइरहेका स्वदेशी च्यानलमा कुनै पनि प्रभाव पर्ने छैन् तर दर्जनौं विदेशी च्यानल (हिन्दी तथा अंग्रेजी) च्यानल भने यसबाट प्रभावित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्