वीर अस्पतालको प्रमुख को हो «

वीर अस्पतालको प्रमुख को हो

नेपाल सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड–१९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ । गत जेठ ६ गते जारी भएको अध्यादेशमा कोभिड–१९ संक्रमितको निदान उपचारका लागि केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यसै व्यवस्था अनुसार काठमाडौंको वीर अस्पताललाई अहिले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको छ ।
अध्यादेशमा भएअनुसार अस्पताल सञ्चालनको लागि एक प्रमुख प्रशासकीय अधिकारी नियुक्त गर्ने व्यवस्था छ । साथै सरकारले प्रोफेसर डा. जागेश्वर गौतमलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । युनिफाइड अस्पताल स्वास्थ्य मन्त्रालय आफंैले सञ्चालन गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । डा. गौतमलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर वीर अस्पताल पठाएपछि विवाद उत्पन्न भएको छ । डा. गौतम प्रमुख प्रशासकीय अधिकृत भएर वीर अस्पताल गएपछि निमित्त निर्देशकका रूपमा रहनुभएकी डा. शान्ता सापकोटा बिदा बसेकी छन् । अस्पतालको प्रमुख को हो भन्ने विषयमा दुइथरी मत देखिएपछि विवाद बढेको छ ।
यसै सन्दर्भमा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई निमित्त निर्देशक र प्रमुख प्रशासकीय अधिकृत बीचको विवाद के हो भनेर सोधेका छौं । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वीर अस्पताल युनिफाइड अस्पतालमा रूपान्तरण भइसकेकाले प्रमुख आफैं रहेको बताए ।
सरकारले अर्को नियुक्त नगरुञ्जेल अथवा अध्यादेश क्रियाशील रहुञ्जेल वीर अस्पतालको प्रमुख डा. जागेश्वर गौतम नै रहने बताए । सरकारले गरेको निर्णयलाई नमानी विवाद सिर्जना गरेर मिडियाबाजीमा जानु राम्रो नभएको डा. गौतमले बताए । निमित्त निर्देशक रहनुभएकी डा. सापकोटाको पद नै अहिले नरहेको भन्दै विवाद नझिक्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्