Logo

वसन्त ऋतुको हिमाल आरोहण सकियो

कोरोना महामारीका बीच सर्वाधिक आरोहण अनुमति जारी भएको यो वर्षको वसन्त ऋतुको हिमाल आरोहण सकिएको छ । यो सिजनमा कुल १६ वटा हिमाल चढ्न ७४२ जना आरोहीले अनुमति लिएका थिए ।
यसमध्ये सगरमाथाका लागि मात्र ४ सय ८ जनाको आरोहण अनुमति जारी भएको थियो । यो एक सिजनमा जारी भएको अहिलेसम्मकै बढी थियो । पर्यटन विभागका अनुसार आरोहण अभियान सबै हिमालमा पूरा भएको छ ।
सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । यो वर्ष कति जनाले सफल आरोहण गरे भन्ने तथ्यांक आउन भने केही समय लाग्ने निर्देशक आचार्यले बताइन् ।

२८ हजार किलो फोहर संकलन
नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ ।
सैनिक मुख्यालय जङगी अड्डामा शनिबार आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उहाँहरुलाई कदरपत्र प्रदान गरेका हुन् । सेनाको अगुवाइमा सर्वाेच्च शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट गत चैत ३१ गतेदेखि यही जेठ १५ सम्म २७ हजार ६७१ किलो फोहर सङ्कलन गरिएको थियो ।
अभियानका क्रममा सङ्कलन गरेको नकुहिने २५ हजार १६६ फोहर प्रशोधनका लागि काठमाडौ ल्याएर सम्वन्धीत संस्थालाई हस्तान्तरणका साथै कुहिने २ हजार ५०५ किलो सम्वन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको थियो । यस क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका दुई शव र सगरमाथाको चौथो क्याम्पमा फेला परेका दुई शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाईका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले सन् २०१९ मा सगरमाथा हिमाल सफाइका क्रममा १० टन फोहरसगै विभिन्न मितिमा हिमाल आरोहरणका क्रममा ज्यान गुमाएका ४ आरोहिको शव काठमाडौ ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको थियो । सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले सेनाको अगुवाईमा ४३ सैनिक र ६९ गैरसैनिक सम्मिलित पाँच टोली बनाएर अभियानका क्रममा छ हिमालबाट फोहर सङ्कलन गरिएको जानकारी दिए । अभियानका क्रममा तीन जना सैनिक र दुई जना गैरसैनिकले आमादब्लम हिमालको सफल आरोण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्