विराट ट्रेड एक्स्पोमा हेलिसिटी टुर पनि समावेश «

विराट ट्रेड एक्स्पोमा हेलिसिटी टुर पनि समावेश

विराटनगर- देशकै जेठो औद्योगिक संगठन मोरङ व्यापार संघको आयोजनामा यही शनिबारदेखि विराटनगरमा हुने विराट ट्रेड एक्स्पोमा हेलिसिटी टुर पनि समावेश गरिएको छ ।
विराटनगरकै होटल एसियाटिकसँगको सहकार्यमा हेलिसिटी टुरको समावेश गरिएको आयोजक समितिका संयोजक अनुपम राठीले जानकारी दिए । “एक्स्पोलाई नयाँपन दिन पनि हेलिसिटी टुर राखिएको हो,” उनले भने । आयोजकले दुइटा डायनोसरको प्रतिमा पनि एक्स्पोमा राख्दैछ । हेलिसिटी टुर गराउने निश्चित भएको होटल एसियाटिकका प्रबन्ध निर्देशक पुण्य भट्टराईले बताए । यसअघि उद्योग संगठन मोरङले आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार मेलामा पनि हेलिसिटी टुर समावेश गरिएको थियो । हेलिसिटी टुर पनि राख्न गर्न चौतर्फी माग आएपछि समावेश गरिएको संघका अध्यक्ष पवनकुमार सारडाले बताए ।
“सस्तो र सहज रुपमा हेलिकप्टर उडानको आनन्द दिनेछौं,” हेलिसिटी टुरका संयोजकसमेत रहेका भट्टराई भन्छन्, “हवाई जहाज त जो पनि चढेको हुन्छ तर, हेलिकप्टर चढ्ने विरलै पाइन्छन् । त्यसैले सिटी टुर दर्शकका लागि निकै लाभदायक हुनेछ ।” हेलिसिटी टुरका लागि दैनिक २५ उडान हुनेछ । त्यसबाहेक दैनिक २ वटा उडान पाथिभराको उडान गरिने छ । जसका लागि भाडासमेत निश्चित भइसकेको छ ।
विराटनगरबाट पाथिभरा पुगेर आएको प्रतिव्यक्ति ३५ हजार रुपैयाँ भाडा कायम गरिएको छ । यसअघि उद्योग संगठनको मेलामा प्रतिव्यक्ति ५० हजार लिइएको थियो । संगठनको मेलामा स्थानीय उडानका लागि साढे ७ हजार भाडा कायम गरिएको थियो । “लोकल हेलिसिटी टुरका लागि पनि भाडा घटाउने प्रयास गरिरहेका छौं,” भट्टराईले भने, “सम्भवतः प्रतिव्यक्ति ५ हजारकै हाराहारीमा हुनेछ ।” माउन्टेन एयरसँग हेलिसिटीका लागि सहमति भइसकेको उनले जनाए ।
३ लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने आयोजकको अनुमान छ । प्रदर्शनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा सांगीतिक कक्ष, बालउद्यान तथा मनोरञ्जन र खाना कक्ष गरी एक्स्पोलाई चार भागमा विभाजन गरेर व्यवस्थापन गरिएको संयोजक राठीले जानकारी गराए । प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री, हस्तकला, तयारी पोशाक र जुत्ताचप्पलको स्टल रहनेछन् । एक्स्पोमा आउने दर्शकलाई स्थानीय र राष्ट्रिय कलाकारले भरपुर मनोरञ्जन पनि प्रदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्