Logo

हाइड्रो, पर्यटन, कृषिलाई प्राथमिकता

प्रदेश – गण्डकी
जिल्ला – म्याग्दी
स्थानीय तह – रघुगंगा गाउँपालिका
केन्द्र – मौवाफाँट
सिमाना
पूर्व – कालीगण्डकी नदी, पर्वतको जलजला गाउँपालिका
पश्चिम – धवलागिरि गाउँपालिका
उत्तर – अन्नपूर्ण गाउँपालिका
दक्षिण – बेनी र मंगला गाउँपालिका
क्षेत्रफल – ३ सय ८० वर्ग किमि
कुल घरधुरी संख्या – ४ हजार ९८
वडा – ८ वटा
जनसंख्या – १५ हजार ७ सय ५३
अध्यक्ष – भवबहादुर भण्डारी
उपाध्यक्ष – कमला तिलिजा
प्रमुख प्रशासकीय अधिकृत – अमृत सुवेदी

म्याग्दीमा रहेका ६ वटा स्थानीय तह तथा पर्वत र मुस्ताङ जिल्लासँग सिमाना जोडिएको रघुगंगा गाउँपालिका हो । रघुगंगा नदीबाट नामकरण भएको यस गाउँपालिकामा मगर, बाहुन, क्षेत्री, ठकुरी, दलितसँगै अल्पसंख्यक छन्त्याल, थकाली र गुरुङ समुदायको बसोबास छ । यस गाउँपालिकाको विकासको आधार हाइड्रो, पर्यटन, कृषि र पशुपालनबाट रोजगारीको सम्भावना भएको अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै दरमिजा, चिमखोला, कुइनेमंगलेसम्म सडक सञ्जाल पु¥याउन यस वर्ष सफल भएको छ । गाउँपालिकाले नदी र खोलाका कारण एक गाउँबाट अर्को गाउँमा सहज गराउन २३ वटा झोलुङ्गे पुलमध्ये १४ वटा झोलुङ्गे पुल प्रदेश र संघको सहकार्यमा निर्माण गर्न सफल भएको छ ।
“अर्कातर्फ मौवाफाँटदेखि झीँ र पाखापानीतर्फका नागरिकका लागि सडक सञ्जाल विस्तार गरी झीँको पुछार र बुग्लस्थित राहुघाट नदीमा मोटरेबल पुल निर्माण गरेको छौं । कृषि, पशुपालन, पर्यटनलगायतका सम्भावनालाई पहिचान गरेर पूर्वाधार निर्माण चरणबद्ध गरेका छौं,” अध्यक्ष भण्डारीले चुनावको समयमा जनतासँग गरेको वाचाअनुसार सडक, पुल, हाइड्रो र हरेक गाउँमा स्वास्थ्य सेवा पु¥याउन सफल भएको बताए ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा व्यवस्थापन भएको छ भने वडा र विषयगत कार्यालयको पूर्वाधार निर्माण, विद्युत् र सञ्चारको पहुँच विस्तार, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, प्रत्येक घरमा खानेपानीको सुविधा विस्तारका लागि रघुगंगाले संघीय र प्रदेश सरकारसँग समन्वय गरेर विकासका योजनाहरू काम गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
हरेक बस्तीमा कच्ची सडक जोडिएका कारण आगामी आर्थिक वर्षमा कृषि, शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिएर बजेट विनियोजन गर्ने योजना तयारी गरिरहेको अध्यक्ष भण्डारीले बताए ।
चिमखोला र कुइनेमंगलेको माथिल्लो भेगमा यार्सागुम्बा, निरमसी, जटामसी, चिराइतो, सतुवालगायतका बहुमूल्य जडीबुटीहरू प्रशस्त मात्रामा पाइने भएकाले यसलाई व्यावसायिक र व्यवस्थित बनाउनेतर्फ गाउँपालिका लागेको छ ।
“गाउँपालिकालाई समृद्ध बनाउन भौतिक पूर्वाधार निर्माणसँगै यहाँको जलस्रोत, पर्यटन, जडीबुटी, कृषि, पशुपालनलगायतको सम्भावनालाई उजागर गर्ने गरी योजनाबद्ध तवरले अगाडि बढेका छौँ, आगामी योजना तय गर्दा हाम्रो ध्यान यसैमा केन्द्रित छ,” गाउँपालिका अध्यक्ष भण्डारीले भने ।
स्थानीय तहमा निर्वाचित भएपछि धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी र यसमा मिसिने अन्य खोलाहरूबाट करिब १ सय ५० मेगावाट क्षमतासहित ५ वटा जलविद्युत् आयोजनाहरूले विद्युत् उत्पादनका लागि वातावरण निर्माण भएर काम भइरहेको बताए ।
चिमखोलाको बगरखोलामा ५.५ मेगावाट, ४० मेगावाट क्षमताको राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला, ३५. ५ मेगाघाट क्षमताको राहुघाट मंगले, ४८ मेगावाटको अपर राहुघाट जलविद्युत्को समेत ठेक्का लगाएर निर्माण कार्य प्रारम्भ गर्ने तयारी गरिएको छ ।
कुइनेमंगलेमा संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेकोे २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना र चिमखोलामा तुँदी पावर कम्पनीले ३५.५ मेगाघाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण सुरु गरेको छ ।
गाउँपालिकामा विकास निर्माण प्रशासन क्षेत्रमा दरबन्दीअनुसार कर्मचारी नभए पनि करार कर्मचारीबाट जनताको सेवालाई प्रभावकारी बनाइएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
हालसम्म ५१ प्रतिशत बजेट यो आर्थिक वर्षमा कार्यान्वयन भएको छ । कोरोनाले आगामी आर्थिक वर्षको योजना छनोट तथा जनतासँग अन्तत्र्रिmया गर्न नसकेको उनले बताए ।
राजस्व परामर्श समितिको बैठकले राजस्व अनुमान र स्रोत अनुमान गरेर आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि तयारी भइरहेको उनले बताए ।
गाउँपालिकामा असल अभ्यासका रूपमा उपभोक्ता समितिबाट विकास निर्माणको काम र निजी क्षेत्रको सहकार्य, गाउँपालिकाको प्रशासन भवन समुदायबाट निःशुल्क जग्गा उपलब्ध भएको अधिकृत सुवेदी जानकारी दिए ।
दोस्रो लहरको कोरोना भाइरस गाउँगाउँमा फैलिएपछि गाउँपालिकाले डाक्टर, एम्बुलेन्स सेवा उपलब्ध गराएर गाउँमा २० बेडको कोभिड अस्पताल सञ्चालन गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
“गाउँपालिका र समुदायको आर्थिक तथा सामग्री सहयोगमा कोभिड अस्पतालमा कोभिडको बिरामी उपचार गरिरहेका छौं,” उनले भने ।
गाउँपालिकाको वडा नम्बर १ बादुकमा विश्वयुद्धमा साहसिक पदक भिक्टोरिया क्रस पदकबाट विभूषित स्वर्गीय भिसी तुलबहादुर पुनको जन्मथलो रहेको छ । थालीनाचको उद्गम स्थल मानिने रघुगंगामा सेदो गीत, पुख्र्यौली, मादले, मारुनी, सोरठी, यानीमाया, शिरफूल, भजन कीर्तन, दग्नामको लिङ्गो जुधाइ र भुमे पूजा, चिमखोलाको टोपा नाच मौलिक लोकसंस्कृति भरिपूर्ण छ ।

प्रस्तुती : धिरन कार्की

प्रतिक्रिया दिनुहोस्