साना सवारी साधनको चालक महिला «

साना सवारी साधनको चालक महिला

सिन्धुली- सिन्धुलीमा साना सवारी साधन चलाउने महिलाको संख्या बढोत्तरी हुँदै  गएको छ । महिला अटो चालकको संख्या बढ्दै गएको छ । परम्परागत सोचाइको अन्त्य गर्दै महिलाहरू अटो चलाएर नै जीविकोपार्जन गरिरहेका छन् ।  
जिल्लाको पहिलो महिला अटो चालक रेखा गौतम दुई वर्षदेखि अटो चालउने काम गर्छिन् । महिलाहरूले चालकको काम गर्न हुँदैन भन्ने परम्परागत सोचाइलाई तोड्न तथा आर्थिक रूपमा सबल बन्नका लागि अटो चलाउन थालेको उनले बताइन् । “सुरु–सुरुमा त अटो चलाउँदा हेर्ने मान्छेहरूको लाइन हुन्थ्यो । महिलाले अटो चलाएको भन्दै अचम्ति हुनेहरू बाक्लै थिए । उनी भन्छिन्, अहिले त म मात्रै होइन अरू दिदीबहिनीहरू पनि हुनुहुन्छ ।”
पहिले महिलाको अटोमा चड्न आनाकानी गर्थे, उनले भनिन्, “लडाइदिने पो हो कि भनेर पुरुषकै अटोमा जान्थे । तर, अहिले तिनै मानिसहरू पुरुषले भन्दा त झन् सुरक्षित तवरले विस्तारै चलाउदा रहेछन् भन्न थालेका छन् ।” पहिलो अटो चालक भएकाले पनि आफूलाई हेर्ने दृष्टिकोण नकरात्मक भएको रेखाले बताइन् । उनले भनिन्, “नयाँ काम गर्दा प्रोत्साहनको सट्टा मज्जाकको पात्र बनाइन्छ ।” अहिले त नयाँ महिलाहरू पनि थपिएको भन्दै उनले खुसी व्यक्त गर्दै अव अटोमा मात्र हैन ठूलो गाडी चलाउन पनि आँट गर्नुपर्ने बताइन् ।
सुरु–सुरुमा महिलाले पनि चालकको काम गर्छन् ? भनेर प्रश्न गर्नेहरूले नै अहिले हौसला दिन थालेको कमलामाई नगरपालिका वडा नम्बर ४ मल्लागाँउकी बिनिता देवकोटा बताउँछन् । अटो चलाउन थालेपछि घर व्यवहार चलाउन र छोराछोरी पढाउन सहज भएको देवकोटाले सुनाइन् । 
कनपा–६ धुराबजारकी सुशीला बस्नेत भने रहरै रहरमा यो पेसामा होमिएको बताउँछिन् । हामी महिलाले चालकको काम गर्न सक्छौं र जस्तो लाग्थ्यो उनले भनिन्, “अरू दिदीबहिनीहरूलाई देखेर प्रेरणा मिल्यो ।” अहिले सुशीला आर्थिक रूपमा सक्षम भएको बताउँछिन् । आफ्नो काम प्रतिखुसी हुँदै उनले अरू महिलाहरूलाई पनि समाजले के भन्ला भनेर नबस्न आग्रह गरिन् । अटो चलाएरै आफ्नो र परिवारको खर्च टार्न सकिने उनले बताइन् । 
कनपा–४ मिलनचोककी एकल महिला सरिता सुनुवार घरधन्दा सकेर मात्र अटो चलाउन निस्किन्छन् । उनले भनिन्, “दिउँसो फुर्सदको समय सदुपयोग गर्दा मात्रै पनि आफ्नो २ छोरीलाई पढाउन र घर व्यवहार टार्न सहज भएको छ । अरू काममा जस्तो यत्ति बजेसम्म काम गर्नै पर्छ भन्ने छैन, दिउँसो फुर्सदको समय अटो चलायो, फेरी साझँको काम गर्न घर पुग्यो राम्रो छ ।”
अटो चलाएर राम्रो कमाई हुन थालेपछि अहिले जिल्लाका अन्य महिलाहरू पनि चालकको काम गर्न थालेका छन् । आफ्नै ठाउँमा कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यसप्रति महिलाहरूको आकर्षण बढ्दै गएको हो । भद्रकालि यातायात प्रालिका अनुसार हालसम्म जिल्लामा १५ जना महिला अटो चालकहरू छन् । 

 

प्रतिक्रिया दिनुहोस्