महिला उद्यमीलाई आधुनिकीकरण र सशक्त बनाउँदै खल्ती
इकमर्स कम्पनी खल्तीले यूएनसीडीएफ/यूएनईएससीएपीसँग सहकार्य गरी महिलाद्वारा सञ्चालित घरेलु, सानो तथा मध्यम उद्यमीहरुलाई विभिन्न प्रशिक्षणमार्फत सशक्त र डिजिटाइज गर्दै आइरहेको छ ।
यस कार्यक्रमले महिला उद्यमीहरुलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको छ ।
“महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पुर्याउन पाउनु हाम्रो (खल्ती) लागि ठूलो सम्मानको कुरा हो” खल्ती डिजिटल वालेटका परियोजना संयोजक प्रभात कुमार झाले भने, “हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले उहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ ।”
उनका अनुसार सेवा र उत्पादनहरूको निःशुल्क डिजिटल मार्केटिङ प्रदान गर्न र बिक्री बढाउनका लागि हाइपरलोकल मार्केट अर्थात् खल्ती बजारमा पनि एमएसएमईएस उद्यमीहरुलाई ल्याइएको छ ।
कार्यक्रममा सहभागी महिला स्निग्धता श्रेष्ठले खल्ती, युएनसीडीएफ र युएनईएससीएपीसँग काम गर्ने अवसर पाउँदा व्यक्तिगत र व्यावसायिक दुवै रूपमा आफू र आफ्ना सदस्यहरुलाई धेरै खुसी लागेको बताइन् ।
“हामी, सबाह नेपाल र सबाह नेपालद्वारा सञ्चालित– ‘द भिलेज क्याफे’, यस अभियानमा भाग लिन पाएकोमा कृतज्ञ छौं” उनले भनिन्, “वास्तवमै यस प्रशिक्षणले एमएसएमईएस उद्यमीहरुलाई आफ्नो दिगो विकाससम्बन्धी व्यावहारिक ज्ञान दिएको छ ।”
कार्यक्रमलाई थप प्रोत्साहित गर्नका लागि खल्तीले विभिन्न बैंकहरुसँग सहकार्य गरी धेरै महिलाहरुलाई निःशुल्क बैंक खाता बनाउन सहयोग गर्दै आइरहेको छ । उक्त कार्यक्रमले महिला व्यवसायीहरुलाई हरेक व्यापारिक कारोबार सजिलै डिजिटल माध्यमबाट गर्न प्रशिक्षण तथा तालिम प्रदान गरेको बताइएको छ ।
त्यसैगरी महिलाको नेतृत्वमा सञ्चालन भइरहेको व्यवसायका लागि पनि खल्तीले प्रत्येक टप–अपमा ४ प्रतिशत क्यासब्याक प्रदान गरेको छ । यसबाहेक, खल्तीले महिला उद्यमीहरुको व्यवसाय प्रवद्र्धन गर्न र झन्झटरहित भुक्तानीको लागि ५०० एसएमएस र निःशुल्क खल्ती क्यूआरहरू पनि उपलब्ध गराइरहेको छ ।
खल्ती डिजिटल वालेटले अहिले पनि साना व्यवसायहरुलाई कसरी डिजिटाइज गर्ने विषयमा प्रशिक्षण सञ्चालन गरिरहेको छ । इच्छुक व्यवसायीहरुले उनीहरुको सामाजिक सञ्जालमार्फत र सम्पर्क नम्बरमा बुझी उक्त कार्यक्रममा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।