Logo

सिटिजन्स बैंकमार्फत घरबाटै कर्जा लिन सकिने

सिटिजन्स बैंक इन्टरनेसनलडले एफ वान सफ्ट इन्टरनेशनलको सहकार्यमा नयाँ सुविधाका लागि पेडे लोन नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । विहीबार बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी ‘पेडे लोन’ योजना सार्वजनिक गरेका छन् ।
बैंकमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिन सम्मका लागि अधिकतम २ लाखसम् रुपैयाँमा मोबाइल बैकिङबाट ‘पेडे लोन’ सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु पर्ने बैंकले जनाएको छ ।
ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न ‘पेडे लोन’ सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘पेडे लोन’ योजना सञ्चालनमा ल्याएको हो ।
सिटिजन्स बैंक इन्टरनेसनलले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा छ ।
मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा एटीएम र १०९ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्