महानगरपालिकाको सबै वडामा बालपोषण कार्यक्रम
वीरगन्ज महानगरपालिकाले नगरभित्रका ३२ वटै वडामा बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बालपोषण कार्यक्रम सञ्चालन गरेको छ । महानगरका ६ महिनादेखि २३ महिनासम्मका ८ हजार २ सय ३० बालबालिकाको शारीरिक र मानसिक विकास बढाउन बालपोषण कार्यक्रम सञ्चालन गरेको हो ।
यस कार्यक्रमअन्तर्गत पहिलो चरणमा बिहीबारदेखि सबै वडामा पौष्टिक आहार वितरण गरिएको छ । महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बालबालिकालाई बिहीबार पौष्टिक आहार वितरण गरेर कार्यक्रमको उदघाटन गरे । बिहीबारदेखि सुरु भएको कार्यक्रममा बच्चाका लागि करिब २४ हजार ६ सय ९० किलो पौष्टिक आहार वितरण गरिने महानगरपालिकाले जनाएको छ । त्यस्तै दोस्रो चरणमा २७ हजार ६ सय ९० किलो पौष्टिक आहार वितरण गरिने महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बताए ।
महानगरपालिका पूर्णखोप घोषणा हुने नजिक पुगेको जानकारी दिँदै वीरगन्जका सबै बालबालिकामा खोपको पहुँच पु¥याएर पूर्णखोप घोषणा गर्ने तयारी पनि रहेको उनले बताए । पौष्टिक आहार वितरण कार्यक्रममा महानगर प्रमुख सरावगीसहित महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोलगायतको उपस्थिति थियो ।