निषेधाज्ञामा दैनिक १ सय ३० मेट्रिक्टन तरकारी खपत
कोरोनाको कारण निषेधाज्ञा जारी रहेको अवस्थामा पनि पोखरामा दैनिक करिब एक सय ३० देखि एक सय ५० मेट्रिक्टन तरकारी खपत हुने गरेको छ ।
कोरोनाको महामारी जारी रहेको बेला प्रायः होटल तथा रेष्टुरेण्टहरु बन्द भएकाले अन्य समय भन्दा यस समयमा करिब २० प्रतिशत कम तरकारी खपत हुने गरेको शान्ति वनवाटिकास्थित कृषि उपज थोक बजार कार्यालयका योजना शाखा सहायक रुपा दाहालले बताइन् ।
अन्य सिजनमा पोखरामा करिब दैनिक १ सय ५० देखि एक सय ८० मेट्रिक्टनसम्म तरकारी खपत हुने गरेको उनको दावी छ । उनले भनिन्, “बजारको माग अनुसार मूल्य घटबढ हुने हो, यतिबेला खासै तरकारीको माग धेरै छैन, मूल्य स्थिर रहेको छ ।” पोखरामा हिजोआज करिब ७० प्रतिशत भन्दा बढी हरियो तरकारी भने यस क्षेत्रकै भएको उनले जनाइन् ।
कोरोनाको समयमा फलफूल तरकारी किन्ने उपभोक्ताहरुले भने स्वास्थ्यका मापदण्ड पालना कायम नगरेको तरकारी बिक्रेताहरुको गुनासो छ । फलफूल तरकारी बिक्रेताको भने हात हातमा तथा खल्तीमा सेनिटाइजरसहित फलफूल तरकारी बिक्री गरेका छन् । पोखराको शान्तिवन वाटिका, पोखराको श्री कम्प्लेक्स बजार लगायतका ठाँउमा विहान ५ बजेदेखि ९ बजेसम्म उपभोक्ताहरुको अध्याधिक भिडभाड हुने गरेको छ ।