कोरोना संक्रमण र मृत्युदर घट्यो, निको हुने बढ्यो «

कोरोना संक्रमण र मृत्युदर घट्यो, निको हुने बढ्यो


कोरोना संक्रमण उच्च भएको बेलाको तुलनामा हाल संक्रमितको संख्या ३३ प्रतिशतले घटेको पाइएको छ ।
वैशाख २८ गते सबैभन्दा बढी ९ हजार ४८३ पुगेको कोरोना संक्रमितको संख्या पछिल्लो केही दिनयता ५ हजारको हाराहारी रहेको पाइएको छ । वैशाखको अन्तिम साता औषत ९ हजार ४ सय कोरोना संक्रमितको संख्या बुधबार ६ हजारमा सीमित भएको छ । यसैगरी जेठ ५ गते सबैभन्दा बढी २४६ जनाको एक दिनमा मृत्यु हुने गरेकोमा बुधबार हालसम्मकै कम दैनिक मृत्युदर १.१ प्रतिशत अर्थात् ७५ मा सीमित भएको छ । दोस्रो चरणको कोरोना संक्रमण बढेपछि गरिएको १ महिना भन्दा लामो निशेधाज्ञाका कारण संक्रमण र मृत्यु घटेको छ भने निको हुने दर बढेको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम र उपचार नियन्त्रणमा पछिल्लो समय गरेका केही नीतिगत कामलाई कार्यान्वयन गर्दै लगेपछि त्यसको प्रभाव संक्रमण हुने दर घटेको र निको हुनेको दर बढेको छ । विगत एक हप्ताको तथ्यांकमा संक्रमित हुने दैनिक दर ३७ प्रतिशतबाट घटेर ३० प्रतिशतको हाराहारीमा आएको छ । यो घटेको तथ्यांक कोरोना परिक्षण गराएका संख्याका आधारमा तयार गरिएको दर हो । यसैगरी निको हुने दर समेत लगभग बढेको छ । गत हप्ता निको हुने दर ९० प्रतिशत रहेकोमा सो दर हाल ११५ प्रतिशत भन्दा बढी रहेको छ । तथ्यांक सोही समय संक्रमित हुने र निको हुनेको संख्याका आधारमा तयार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विगत २४ घन्टामा २१ हजार ७७३ जानमा गरिएको पीसीआर परिक्षणमा ३१.३४ प्रतिशत अर्थात ६ हजार ८२५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमितको संख्यामा आधार बुधबार ८६ प्रतिशत अर्थात ५ हजार ९०४ जना संक्रमण मुक्त भएका छन् । यसरी नै बुधबार हालसम्मकै सबैभन्दा कम ७५ जनाको मृत्यु भएको छ । यसैगरी बुधबारसम्म १ हजार ४४४ संक्रमित आईसियु रहेका छन् । यो संख्या गत हप्ता १ हजार ६१८ रहेको थियो । यसरी नै बुधबारसम्म ३९८ भेन्टिलेटरमा उपचाररत रहेका छन् । यो संख्या गत हप्ता ५०० को हाराहारीमा थियो ।
हालसम्म नेपालमा ३१ लाख ६ हजार ९३८ जनाले कोरोना संक्रमणको आशंकामा पिसिआर परिक्षण गराएकोमा ५ लाख ७६ हजार ९३६ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसरी संक्रमण भएका मध्ये ७ हजार ६३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुने कुल प्रतिशत ८१ रहेको समेत मन्त्रायले जनाएको छ । हाल उमेर समूह अनुसार सबै बढी संक्रमित २१ देखी ३० वर्ष उमेर समूहका रहेका छन् भने सबै भन्दा कम ९० देखी माथिको उमेर समूहमा रहेको छ ।

नेपालमा भेटिएको कोरोना भेरियन्ट डेल्टा–बी १.६१७.२
पछिल्लो समय नेपालमा फैलिएको कोभिड १९ भेरियन्टलाई डेल्टा–बी १.६१७.२ नाम दिइएको छ ।
विश्वभरी फैलिँदै गईरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारी नेपालमा समेत फैलिएकोमा नेपालका धेरै स्थानहरूमा संक्रमण दर तीव्ररूपमा बढीरहेको अवस्थामा सो नाम दिइएको हो ।
विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सनभित्र परेका र विभिन्न देशहरूमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्टलाई अल्फा, डेल्टा, गामा र कप्पा छुट्टाछुट्टै नाम दिएको छ । पछिल्लो समय नेपालमा फैलिएको कोभिड १९ भेरियन्टलाई डेल्टा नाम हो । हाल नेपालमा भेटिएका भेरियन्ट अफ कनसर्न मा अल्फा र डेल्टा बी १.६१७.२) रहेका बुधबार मन्त्रालयले सार्वजानिक गरेको छ । हालसम्म नेपालमा यस बाहेक अरु कुनैपनि नयाँ भेरियन्ट पुष्टी नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्