जुम्लाको रावतबाडा गाउँमा संक्रमण भयावह, एकसाता गाउँ सिल
जुम्लाको तातोपानी गाउँपालिका–६ रावतवाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोभिड—१९ संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले १९ जेठदेखि २८ जेठसम्म रावतवाडा गाउँ एक साताका लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनका अनुुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउने छैन । रावतवाडा र खड्कावाडाबीच आवतजावत पनि बन्द गरिएको छ । यी दुवै जोडिएका गाउँ हुन् ।
गाउँमा कोभिड—१९ संक्रमित बढ्न सक्ने भएकोले गाउँपालिकाले आइसोलेसन थप गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेको भनाइ छ ।
मंगलबार गाउँका २७ जनामा एन्टीजेन परीक्षण गरेकोमा ९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैलाई गाउँपालिकाले बनाएको आइसोलेसनमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बुधबार गाउँका ५५ घरधुरीका १ सय ९ जनाको पिसिआरका लागि स्वाब संकलन गरिएको बताए । परीक्षण गरिएको स्वाबको नतिजा आइसकेको छैन । गाउँमा कोरोना संक्रमण भयाभह हुन सक्ने अवस्था आयो । गाउँपालिका स्वास्थ्य संयोजक चौलागाईले भन्नुभयो, “गाउँ नै सिल गर्ने निर्णय भयो । विगत एक सातादेखि गाउँमा कोभिड—१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको सक्रियतामा उच्च सतर्कता अपनाएको हो ।“
एकै पटक ठूलो संख्यामा कोरोना पुष्टि भएपछि गाउँमा जनस्वास्थ्य सेवा कार्यालयको टोली बोलाएर पिसिआरका लागि स्वाब संकलन गरिएको हो । यसअघि रावतवाडा गाउँमा विवाहलगायतका सामूहिक गतिविधि तीब्र भएका थिए ।
काठमाडौं, सुर्खेत र भोजपुरलगायतका जिल्लाबाट मान्छे भित्रिएका थिए । गाउँमा कोभिड—१९ लक्षणका बिरामी बढेको थाहाँ पाएपछि वडाध्यक्ष विशाल खड्का स्वास्थ्यकर्मीसहित गाउँमा पुगेका थिए । उहाँले बिरामीको अवस्थाबारे जानकारी लिएर पहिलो दिन एन्टिजोन परीक्षणका लागि कोभिड अस्पतालमा २७ जनालाई पठाएका थिए ।
गाउँमा स्वास्थ्यकर्मी, जनप्रतिनिध र कर्मचारी पुगेर सचेतना फैलाउनेदेखि लक्षण अनुसारको औषधि दिने गरिएको स्वास्थ्य शाखा संयोजक चौलागाईंले जानकारी दिए ।
जुम्लामा कोरोना संक्रमितको संख्या ४ सय २८ पुगेको छ भने १ सय ८९ जना निको भएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले वीसीआर, एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दै आएको छ ।