रुकुम पूर्व र रोल्पाको सीमा समस्या समाधान «

रुकुम पूर्व र रोल्पाको सीमा समस्या समाधान

रुकुम-लामो समयदेखि देखिएको रुकुम पूर्व र रोल्पा जिल्लाबीचको सीमाना विवाद समाधान भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–७ र रोल्पा थबाङ गाउँपालिका २ पर्ने सीमानामा दुवैतर्फका स्थानीयले विवाद गर्दै आएका थिए । मंराखोला र बाघतारे भन्ने ठाउँमा सीमानाको विषय लिएर पटक–पटक दुई पक्षकै स्थानीयले विवाद उत्पन्न गरेका थिए ।
सीमानाको क्षेत्रमा दुवै जिल्लाका स्थानीयबीच खेतीपाती, पशुचौपाय चरणदेखि ढुङ्गा, गिट्टी, बालुवा तथा जंगलको उपयोग जस्ता कुरामा विवाद बढ्दै गएको थियो । एक महिना अगाडि रोल्पाको थबाङ–२ का स्थानीयले सामूदायिक वन समूह समिति गठन गर्दा मनमुटावसमेत भएको थियो । त्यसकारण विवाद झन् चर्किदै जाँदा भूमे–७ वडा कार्यालयले विवाद समाधानको लागि दुवै जिल्लाका गाउँपालिकामा निवेदन दिएपछि गाउँपालिकाको अग्रसरतामा जिल्लास्तरीय नीतिगत सहमति तथा नापीको कित्ता नम्बर आधारमा सीमाना टुंगिएको हो ।
जिल्लास्तरीय नीतिगत निर्णयबाट पहिलेको दुवै जिल्लाको नापी कार्यालयको नक्साअनुसार नै विवाद टुंगो लगाइएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । उनका अनुसार दुवै जिल्लाका नापी कार्यालयबाट टिम खटिएर प्रष्टसँग सीमाना निर्धारण गरिएको छ । त्यसैगरी रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ति मगरले लामो समयदेखिको विवाद समाधान भएको बताए ।
उनका अनुसार ठोकिएको किलाको आधार मानी स्थानीयले प्राकृतिक स्रोतसाधनलाई उपयोग गर्ने समेत सहमति भएको र आगामी दिनमा विवाद नहुने गरी समस्याको समाधान गरिएको छ । छलफलमा रुकुम पूर्वको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर, भूमे ७ वडा अध्यक्ष धनमान रोका र रोल्पा जिल्लाको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा मगर, प्रमुख जिल्ला अधिकारी गजेन्द्र एमसी, थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्ति मगर, थबाङ–२ वडा अध्यक्ष वसन्त रोका मगर लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्